हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
उदयपुर । उदयपुरमा आफ्नै हजुरआमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले उदयपुर कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई पक्राउ गरेको हो ।
आज बिहान ६ बजे हजुरआमा र नातिबीच जग्गा अंश बन्डाको विषयमा वादविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिइ कानुनी प्रकृया पुरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको जनाएको छ । हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।