सुरेन्द्र पाण्डेको प्रश्न : वृद्धभत्ता ५ हजार बनाएको भए के बिग्रन्थ्यो ?

डलरको सञ्चिति घट्ने क्रम जारी रहे नेपाल श्रीलंका जस्तो बन्छ


१८ जेष्ठ २०७९, बुधबार
Surendra Pandey

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएको भन्दै बिरोध गरेका छन् । सत्तारुढ गठबन्धन बृद्धभत्ता ५ हजार प्रतिमहिना पुर्‍याउने प्रतिबद्धताबाट पछि हटेको उनको भनाई छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले वृद्ध भत्ता एमालेको ब्रान्ड भएको बताए । ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिए । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए ।

पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ । डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?’

यो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उनको टिप्पणी छ । उनले भने, ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस् ।’

पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताए । पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिनामात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दावी गरे । ‘साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन-भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्व खर्च गर्नुहुन्छ ? सम्भव छ ?’, पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गरे । 

उनले मुलुकको समस्या एकातिर र बजेट अर्कोतिर फर्केको भन्दै बजेटले मुलुकको समस्या थप गहिर्‍याउने र चर्काउने दावी गरे ।
‘संकट एकातिर छ, उपचार अर्कोतिर छ, बजेट अर्कोतिर फर्केको छ । यसकारण यो बजेटले समस्याको समाधान दिने होइन कि समस्यालाई गहिर्‍याउने छ, चर्काउने छ । अर्को बर्षदेखि समस्यामा चर्को छलफल हुनुपर्ने म देख्दैछु । यस्तो नहोस्’, उनले भने। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७