योगेश भट्टराईको प्रश्न : मध्यरात अमुक व्यक्तिलाई ल्याएर करको दर हेरफेर गरेर के गर्न खोजिएको हो ?
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थ मन्त्रालयसँग असम्बन्धित मान्छेलाई मन्त्रालयमा मध्यरातमा भित्र्याएर कर तथा राजस्वको दर फेरबदल गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा उनले जेठ १४ गते मध्यरातमा भन्सारका दर, राजस्वका दर कसरी हेरफेर भए भन्नेबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै ध्यानाकर्षण गराए ।
मध्यरात १२ बजे अमुक व्यक्तिलाई अर्थमन्त्रीले बोलाएर उच्च पदस्थ कर्मचारीसँग परिचय गराएर आफ्नो प्रतिनिधिका रुपमा उनको परिचय गराएको र अर्थमन्त्रीकै निर्देशनमा राजस्व, भन्सारका दरमा तलमाथि गरिएको भन्दै उनले ‘के गर्न खोजिएको हो ?’ भन्ने प्रश्न समेत गरे ।
उनले भने, ‘हामीले शपथ खाएका छौं, हरेक मन्त्रीले शपथ खाएका छन्, पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनीयता भङ्ग गर्दैनौं भनेर शपथ खाएका छन् ।’ बजेट बनाउनु एक महिना अघिदेखि अर्थ मन्त्रालयमा असम्बन्धित मानिसले प्रवेश नपाउने र सांसदहरुलाई समेत प्रवेश नदिइने भए पनि बजेट ल्याउनु अघि मध्यरातमा कसैलाई प्रवेश गराएर राजस्व र भन्सारका दरमा किन तलमाथि गरियो भन्नेबारे अर्थमन्त्रीले स्पष्टीकरण दिनुपर्ने उनले बताए ।