प्रचण्डको मोदीसँग भएन भेट, आजै स्वदेश फर्किदै
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न नपाई स्वदेश फर्किने भएका छन् ।
तीन दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतवार दिउँसो भेटेका प्रचण्ड मोदीलाई नभेटी फर्किन लागेका हुन् । प्रचण्डले आइतवार बिहान मोदीसँग खानासहित वार्ता गर्ने तयारी भएको उनको सचिवालयले जनाएको थियो । तर मोदीले कार्यव्यस्तता जनाउँदै प्रचण्डसँग भेट्न नसकेको जनाएको स्रोतले बताएको छ ।
प्रचण्डको सचिवालयले आइतवारै बिहान मोदीसँग भेट हुने भने पनि भाजपा अध्यक्ष नड्डासँग पनि ढिलो गरी नयाँ दिल्लीमा वार्ता भएको थियो । उनी भारतीय नेताहरुमध्ये नड्डासँग यो भ्रमणको अन्तिम भेट गरेर काठमाडौं फिर्ने तयारीमा छन् ।
नड्डा र प्रचण्डबीचको भेटका क्रममा भाजपा र माओवादी केन्द्रबीच एकअर्काबीच समन्वय गरेर दुवै छिमेकीले संयुक्त कार्यक्रम चलाउने सहमति जुटाएका थिए । नड्डासँगको भेटपछि प्रचण्डले आफ्नो दिल्ली भ्रमण उत्साहजनक र एकदमै फलदायी भएको बताएका थिए । तर, मोदीसँग भेट्ने उनको योजना पूरा हुनै नपाई स्वदेश फर्किन लागेका हुन् ।