कोहलपुर घटना : दाजुले एक लाख खर्चेर भाइ-बुहारीको हत्या गराएको खुलासा


१० श्रावण २०७९, मंगलवार
bake mrit cNyZG1LQvD

बाँके । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या आफ्नै दाजुको योजनामा भएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको अनुसन्धानबाट देखिएको छ । आज (मंगलबार) बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो । भाइ-बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ ।

उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । विजयले भाइ-बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन । घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन् । प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत फेला परेका थिए । प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो ।

त्यस्तै घटनास्थल रगताम्य थियो । घटनाका क्रममा मारिएका दम्पती र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको थियो । कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट छ । त्यस्तै पत्नीको घाँटीमा डोरी भेटिएपछि प्रहरीले हत्या अनुमानसहित अनुसन्धान अघि बढाएको थियो ।

मृतक दम्पतीको शरीरमा चोट र घटनास्थल रगताम्य देखिएपछि दाजुसहितका शंकास्पदमाथि प्रहरीले अनुसन्धान थालेको थियो । डीएसपी न्यौपानेका अनुसार हत्याका योजनाकार दाजु र उनकी श्रीमती घरमै थिए । उनीहरुका बाबुआमा एक साताअघि नै बोलबम तीर्थयात्राका लागि भारततिर गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७