एमाले अध्यक्ष ओलीले सर्वसाधारणका सुझाव लिन प्रत्यक्ष टेलिफोन संवाद गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् । ४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ ।
कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुकमार्फत दिएका छन् ।
कुराकानीका लागि ४ गते अपराह्नको समय छुट्याइएको छ । नेकपा एमाले अहिले आसन्न चुनावका लागि घोषणापत्र तयारीमा जुटेको छ । घोषणापत्रमा सर्वसाधरण नागरिकका अपेक्षा समेट्ने उद्देश्यले अध्यक्ष स्वयमले नागरिकसँग फोन संवाद गर्न लागेका हुन् ।