सडकले बिर्सायो वर्षौंको दुःख


१२ पुष २०७९, मंगलवार
lokmarga sadak banda 2
फाइल फोटो

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुशी देखिन्छ । आठ दशकको जीवन यात्रामा अनेकौं दुःख सङ्घर्ष गरेका उनलाई अहिले एउटै कुराले ठूलो खुशी दिएको छ । यसरी खुशी हुनाका कारण हो, गाउँमै दैनिक मोटर गुड्नु । कुमारको घर छेउमा भने अझै मोटरबाटो पुग्न सकेको छैन, मोटरबाटो पुगेको ठाउँदेखि घरमा पुग्न झण्डै आधा घण्टा लागे पनि गाउँलाई सडकले छुँदा खुशी उनी भएका हुन् ।

रोबाङ गाउँ जिल्लाकै दुर्गम गाउँ हो । एकदशक अगाडि मध्यपहाडी लोकमार्ग यस ठाउँमा पुगे पनि यस गाउँलाई मोटरबाटोले जोडेको दुई वर्ष मात्रै भयो । कुमारले गाउँ नजिकै सडक नआउँदासम्म निकै दुःख भोग्नु परेको सुनाउँदै अब दुःखका दिनहरु बिस्तारै हट्दै जाने बताए । गाउँ–गाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाइ थियो ।

‘आजभन्दा १५-२० वर्ष अगाडि अहिलेको जस्तो ससुविधा थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोक्दै जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ’, कुमारले भने, ‘उतिबेला नुन र चामल ल्याउन १५-२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चीज त हाम्रो पालामा पाइँदैनथ्यो ।’

बिस्तारै मुलुकमा विकास हुँदै गएपछि गाउँभन्दा केही तलसम्म सडक आएकाले त्यो सुविधा अहिले गाउँमै लिन सकिने उनले बताए । सुनवल, बुटवल, तानसेन, भुवाचिदी, खर्बाङ, भीमगिठे हुँदै बुर्तिबाङबाट लामो समयसम्म आवश्यक सामान घोडा वा खच्चडमा ढुवानी गरेर गाउँसम्म ल्याइएकामा अहिले गाउँ घरमै सबै सामान पाइने कुमारले बताए ।

‘गाउँमा नुन र चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०÷१२ दिन लगाएर खसौली, बटौली जानुपथ्र्यो, त्यसपछि माथि–माथि मोटरबाटो आउन थाल्यो, पछि खर्बाङ, भीमगिठे र बुर्तिबाङबाट पनि गाडी आउन थाले त्यसपछि हाम्लाई पनि सहज हुन थाल्यो’, उनले भने, ‘अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।’

स्थानीयवासी हेमबहादुर घर्तीमगरले पनि आफ्नो जीवनमा गाउँमा मोटर गाडी गुड्लान् भन्ने कल्पना नगरेको भन्दै अहिले गाउँमा गाडी गुड्दा खुशी लागेको बताए । गाउँमा मोटरबाटो पुगेपछि उनी जस्ता सयौं बुढापाका र स्थानीयवासीमा खुशी छाएको छ । सडकले उनीहरुले भोगेको पुराना दुःख भुलाएको छ ।

जीवनको करिब ५०औं वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक जीवन धानेका हेमबहादुरले अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग थिए । मुस्ताङको थाकखोलाबाट नुन बोकी ल्याएर उपभोग गरेका उनले अहिले नुन मात्रै होइन दैनिक चाहिने सामान घरै नजिक पाउन सक्छन् ।

‘यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५-२० हिँडेर मुस्ताङ, पुग्नुपथ्र्यो, अहिले ननु, सुन जे भने पनि गाउँमै पाइन्छ, गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सपनामा पनि सोचेका पनि थिएनौं’, हेमबहादुरले भने, ‘तर अहिले हामीले नसोचेको विकास भयो, हामी पछिका पुस्ताले धेरै दुःख भोग्न पाएनन् ।’

गाडी ठूला–ठूला सहरमा पुगेपछि मात्रै देख्न पाइएकामा अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको उनले बताए । सडक सञ्जालले गाउँ नजोडिँदा पिठ्यूँमा नुन, चामल बोकेर उपभोग गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिनहरु कहिल्यै नआउने बताउँदै उनले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउने गर्दै आइएकामा अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान सकिने भएको बताए ।

रोबाङ गाउँमा जाने सडक मध्यपहाडी लोकमार्गबाट जोडिएको छ । बुर्तिबाङ–कुरुकपूर्व सडक खण्डकको लुब्लीबाट यो सडक गाउँमा पुगेको छ । उक्त सडकलाई यस गाउँको ‘लाइफ लाइन’ का रुपमा लिइन्छ । स्थानीय भाजवीर घर्ती मगरले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुःख पाएको सुनाए । उनले आफ्नो आधा जीवन मोटर गाडी नदेखेरै बितेको भन्दै अहिलेकाले पहिलेको जस्तो अन्धकारमय जीवन बिताउनु नपर्ने बताए ।

‘कागजपत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उति बेला गाडीको बाटो आएकै थिएन, हिड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा सात दिन र फर्किंदा सात दिन लाग्थ्यो । बाटोमा चोर लाग्ने भएकाले निकै डर पनि हुन्थ्यो, आमाइमाई र केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो’, भजवीरले भने, ‘अहिले त बिहान सररर गाडीमा गइन्छ उस्तैपरे साझँ आँटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको होला र ?’

निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान) ले आफूहरु निर्वाचित भएर आएपछि वडामा धेरै सडक निर्माण गरेको र अझै केही बस्तीमा सडक पुर्‍याउन बाँकी रहेको बताए । उनले आफू कार्यपालिका सदस्य भएका बेलादेखि नै यहाँका गाउँहरुमा सडक सञ्जाल पुर्‍याउने र स्तरोन्नतिको काम गरेको भन्दै सडकले वडावासीको मुहार फेरेको बताए ।

‘भौगोलिक विकटताका कारण हाम्रो वडाको धेरै गाउँ तथा बस्तीमा सडक पुग्न सकेको छैन, हामी आइसकेपछि धेरै ठाउँलाई सडक सञ्जालले जोडेका छौँ, अझै केही गाउँहरुमा पुगेको छैन, त्यसका लागि पनि निरन्तर लागिरहेका छौँ, भौगोलिक विकटता र धेरै बजेट लाग्ने हुँदा पुग्न नसकिएको हो’, वडाध्यक्ष बुढामगरले भने, ‘ठाउँ अप्ठ्यारो छ, बजेट सीमित हुन्छ, त्यसले गर्दा काम गर्न गाह्रो भएको हो, हेरौं अर्को वर्षसम्म पुग्छ कि, अर्को वर्ष नभए हाम्रो कार्यकालभित्र पुर्‍याइसक्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७