कांग्रेसलाई संसद सचिवालयले दियो प्रमुख विपक्षी दलको मान्यता


९ माघ २०७९, सोमबार
Samsad new 3 scaled

काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्राचार गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएको थियो । तर संसद् सचिवालयले पठाएको पत्रमा भने कांग्रेसलाई विपक्षी दलको सेवा सुविधा उपलब्ध हुने उल्लेख छ ।

patra 2312023010321 1000x0 1

सचिवालयका उपसचिव रामहरि थापाको पत्रमा भनिएको छ, ’ प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवा ज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले सदनमै प्रश्न समेत उठाएका थिए ।

प्रमुख विपक्षी दलको परिभाषा र पाउने सेवासुविधाका बारेमा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७३ मा उल्लेख छ । उक्त ऐनको दफा २ को (ङ) विपक्षी दलको परिभाषा उल्लेख छ । उक्त दफामा भनिएको छ, ’मन्त्रिपरिषदको गठन गर्ने वा मन्त्रिपरिषदको गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको दलमध्ये सबभन्दा बढी सदस्य भएको दल विपक्षी दल हुनेछ ।’

विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउने छन् । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि उनले प्राप्त गर्नेछन् । त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७