माओवादी त्यागेर जनमतमा प्रवेश गरे डा. शिवचन्द्र कुशवाहा
बारा–२ को उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध लड्ने
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा डा. शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने भएको छ ।
आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्र्दै नेकपा (माओवादी केन्द्र) छाडेर पार्टी प्रवेश गरेका कुशवाहालाई जनमतले उम्मेदवार बनाउन लागेको हो । कुशवाहा यसअघि कांग्रेससहितको गठबन्धनबाट बारा–२ बाटै उम्मेदवार बनेका थिए । उनी जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष राउतले जनताले कुशवाहालाई निर्वाचित गर्ने बताए । बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । पार्टी प्रवेशका क्रममा कुशवाहले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गरे ।
कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग बारा २ मै पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव उठ्ने भएका छन् । कुशवाहले उनै यादवविरुद्ध चुनावी मैदानमा उत्रिने निर्णयसहित जनमत पार्टी रोजेका हुन् ।