दोस्रो विश्वयुद्धमा एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी जहाज ८० वर्षपछि फेला


९ बैशाख २०८०, शनिबार
ship

काठमाडौँ । दोस्रो विश्वयुद्धमा झण्डै एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी पानीजहाज फेला परेको छ । यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो ।

तर, एउटा अमेरिकी पण्डुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदियो । मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो । मारिनेहरुमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए । यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वर्ल्ड फाउन्डेसनले गरेको थियो । जसलाई एक डच कम्पनीले सघाएको थियो ।

जहाजका भग्नावशेष समुद्रमा स्वचालित रुपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको थियो । जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको थियो । जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो । यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्टवर्ल्डले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका प्रियजनहरुमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो । यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो । त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्दार हुन सक्यो । जो फिलिपिन्स पुगे । जम्मा १०८९ को ज्यान गएको थियो । यसको खोजी ६ अप्रिलमा सुरु भएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७