तामाकोशीको शेयर बाँडफाँट दशैंपछि मात्र, शेयरका लागि तीन गुणा बढी आवेदन
काठमाडौं, २९ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि बाँडफाँड हुने भएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैंपछि गरिने सो आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गते मात्र सकिएको थियो । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।
प्रवर्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
करीब तीन अर्ब बराबरको आवेदन परेको छ । प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।