राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा {फोटो फिचर }
काठमाडौँ, २७ कात्तिक : छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरू सहभागी भएका हुन् ।
छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक भएनन् ।
सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुरायाउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरियो ।
सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको बताए ।
आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताए । सो क्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरे ।
छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ । काठमाडौँका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ । तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।
आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।
-रासस