एचआइभी संक्रमणले महिलालाई दिएको पीडा


२२ मंसिर २०७५, शनिबार
hiv ads

डोटी, २२ मंसिर । दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआइभी संक्रमण भएको सात वर्ष भयो ।

hiv ads

तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दै आएकी छन् । डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ ।

श्रीमानले भारतमा गएर कमाइ गरेर घर परिवार राम्रै चलेको थियो । एचआइभी संक्रमणका कारण श्रीमानको ज्यान गयो तर ती महिलालाई भने एचआइभी सराएर गए । श्रीमानको मृत्युपछि चार छोराछोरीको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । आफ्ना छोराछोरी कसरी पाल्ने भन्ने दिनहुँ चिन्तामा परिरहेकी छन् ।

उनी मात्रै होइनन् जिल्लामा यस्ता कतिपय एचआइभी संक्रमित एकल महिलालाई आफू र बाल बच्चा कसरी हुर्काउने भन्ने चिन्ताले पिरोली रहेको हुन्छ ।

डोटी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशका एचआइभी संक्रमित महिलालाई भने साँझ बिहान हातमुख जोड्न धौधौ परेको छ । अधिकांश पुरुष कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् ।

विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार यस क्षेत्रका संक्रमितमध्ये अधिकांश भारतबाट काम गरेर फर्कने छन् ।

एचआइभी संक्रमित भई घरमा कमाउने श्रीमानको मृत्यु भएपछि एकल हुन पुगेका महिला एचआइभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्न परेपछि आर्थिक समस्याका कारण थप पीडामा पर्ने गरेका पूर्वी चौकीका स्थानीयवासी तथा सञ्चारकर्मी चक्रबहादुर कठायतले बताए ।

‘कमाउन गएका श्रीमानले भारतबाट एचआइभी बोकेर आउँछन् र श्रीमतीलाई सार्छन्’, उनले भने, ‘श्रीमतीलाई बाँचुञ्जेलको पीडा हुन्छ, पुरुष सकेसम्म एचआइभीको जाँच गराउन मान्दैनन् ।’

अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआइभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मी बताउँछन् । कामका लागि भारत गएका श्रीमानले महिलालाई पनि एचाइभीको संक्रमणमा पारेपछि एचआइभी संक्रमित भन्दै परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ ।

एचआइभी संक्रमित भई भारतबाट घर फर्केका समेत उपचार पछि पुनः काम गर्न भारत जाने क्रम समेत बढेको छ ।

केही एचआइभी संक्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आयआर्जनमा सक्रिय हुन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ एचआइभी संक्रमित रहेका प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए ।

उनका अनुसार तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । आर्थिक वर्ष २०७४–७५ सम्मको तथ्याङ्कमा यस प्रदेशमा ६७६ ले एचआइभी, एड्सका कारण ज्यान गुमाएका छन् । गत आवमा मात्रै २४७ नयाँ संक्रमित देखिएका छन् ।

निर्देशनालयका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा छन् । एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरको जानकारीअनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ९५८ छ । उक्त संख्यामा महिलाको संख्या ५४८ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७