तीन वटै सरकारबीच समन्वय हुनुपर्छ : उपसभामुख डा. तुम्वाहाङ्फे

उर्लाबारी, २७ माघ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताइन् । उनले जनतालाई सरकारको अनुभूति दिन पनि तीन वटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताइन् ।
उनले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताइन् । उनले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राखिन् ।
उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको बताइन् । नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्य्विधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताए ।