शिक्षाका कर्मचारीले अब एनजिओ-आइएनजिओका कार्यक्रममा सहभागी हुन नपाउने, मन्त्रालयले गर्यो यस्तो पत्राचार

काठमाडौं, २८ माघ । के तपाई शिक्षक वा शिक्षा क्षेत्रको कर्मचारी हुनुहुन्छ । यदि यसो हो भने अब तपाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था (एनजिओ–आइएनजिओ) ले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी हुन पाउनु हुने छैन ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था (एनजिओ–आईएनजिओ) का कार्यक्रममा सहभागी नहुन शिक्षा मन्त्रालयले आफ्ना कर्मचारीलाई निर्देशन गरेको छ । व्यक्तिगत पहुँचमा आधारमा कर्मचारीको बढ्दो सहभागितालाई नियन्त्रण गर्न शिक्षा सचिव खगराज बरालले आफू मातहतका निकायलाई निर्देशन दिएका हुन् । मन्त्रालय अन्तर्गतका विभिन्न ८ वटा निकायलाई दिइएको उक्त निर्देशनमा त्यस्ता संस्थाले विदेशमा गर्ने कार्यक्रममा सहभागी हुनु पूर्व स्विकृति लिन समेत सम्झाइएको छ ।
एनजिओ–आईएनजिओले देशभित्र गर्ने कार्यक्रममा कर्मचारीद्वारा व्यक्त विचार संस्थागत नहुने भन्दै उक्त धारणाको जिम्मेवारी व्यक्ति आफैंले लिनु पर्ने उल्लेख गरिएको छ ।
‘इण्डिभिजुअल एक्सेस प्रयोग गरी सहभागी हुने गरेको सुनिन आएको’ भन्दै उक्त निर्देशनमा ‘अब आइन्दा त्यस्ता संस्थाहरुबाट संस्थागत सम्बोधन गरेर प्राप्त भएको आमन्त्रण पत्र अध्ययन गरी उपयुक्त भएमा मात्र त्यस्ता कार्यक्रममा सहभागी हुने अनुमति दिन’ सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको छ ।
यसैगरी देश बाहिर सञ्चालन हुने कार्यक्रममा सहभागी हुनुपूर्व वैदेशिक भ्रमण व्यवस्थापन निर्देशकाको व्यवस्था हेक्का राख्न स्मरण गराइएको छ । उक्त निर्देशिकामा कुनै प्रतिष्पर्धामा भाग लिएर व्यक्तिले पाएको निमन्त्रणामा पनि पूर्व स्विकृति लिनु पर्ने व्यवस्था छ ।
यस्तै नेपालको तर्पबाट प्रतिनिधित्व हुने वैदेशिक भ्रमणमा नेपाल सरकारको मनोनयन तथा निर्णय नभई जान नपाइने व्यवस्था छ । उक्त व्यवस्थामा बहालवाला कर्मचारीले विदा लिएर पनि सरकारी प्रतिनिधिको हैसियतमा जान नपाउने उल्लेख छ ।