जापान जाने ढोका खुल्यो, नेपाल–जापानबीच कामदार आपूर्ति समझदारीमा हस्ताक्षर


११ चैत्र २०७५, सोमबार
Nepal Japan Agreement

काठमाडौं, ११ चैत । ठूलो चर्चा र चासोका बीच अन्ततः नेपाली युवालाई रोजगारीका लागि जापान जाने ढोका खुलेको छ ।

Nepal Japan Agreement

नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच आज (सोमबार) कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सोमबार हिमालयन होटलमा एमओसीमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ । यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तर्गत छुट्टै इकाई खडा हुनेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्ने जनाइएको छ ।

श्रम मन्त्रालयका अनुसार अब जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नु पर्ने छैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएकाले कामदार ठगी हुनबाट जोगिने मन्त्रालय स्रोतले जानकारी दिएको छ । दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् । लागतको विषय भने समझदारीपछि दुई देशबीचको प्राविधिक संयन्त्रले टुंगो लगाउने छ ।

नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । नेपाल–जापानको प्राविधिक समितिको बैठकमा दुबै देशले आपूर्ति प्रक्रियालाई पारदर्शी र प्रतिष्पर्धी बनाउने कुरामा नै जोड दिएका थिए ।

आउने अप्रिल १ देखि जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लाने निर्णय गरेको छ । कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ । समझदारीको पारित मस्यौदाअनुरुप अब जापानिज भाषा बोल्न र लेख्न सक्ने (जेएलपीटीको चौंथो स्तर) पास गर्नुपर्ने छ ।

कम्तीमा ३ लाख ४५ हजार १ सय ५० विदेशी कामदारलाई रोजगारी भिसामा भित्र्याउने तयारी जापानको छ । जसमध्ये २५ हजार देखि ३० हजारसम्म नेपाली कामदार आपूर्ति गर्न जापान सरकारलाई अपिल गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७