विप्लवलाई थपिंदै संकट, नवलपरासी इञ्चार्जसहित दुई पक्राउ


१२ चैत्र २०७५, मंगलवार
biplaw 3

नवलपरासी, १२ चैत । प्रतिवन्ध लागेको दुई सातापछि नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा संकटमाथि संकट थपिंदै गएको छ ।

biplaw 3

प्रतिवन्धसँगै पार्टीका नेतृत्व तहकै नेताहरु धमाधम पक्राउ पर्न थालेपछि विप्लव नेकपामा संकट बढ्दै गएको हो । प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिएका छन् । तत्कालीन माओवादी केन्द्रको नवलपरासी जिल्ला कार्यालय सचिव सुमनले प्रचण्ड नेतृत्वको पार्टीमा आएको विभाजनमा वैद्यलाई साथ दिएका थिए । पछि विप्लवले पार्टी फुटाएपछि उनी त्यसमै सक्रिय थिए ।

पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया कावासोती १५ शेरगञ्जका बासिन्दा हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षक समेत भएको जनाइएको छ । हिजो मात्र कालीकोटबाट भेरी–गण्डकी इञ्चार्ज धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै हिजै विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परिसकेका छन् । यस्तै काभ्रेको फाफ्लेडाँडाबाट विप्लव माओवादीका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वलीसहित नौ जना समेत नियन्त्रणमा आइसकेका छन् । यसअघि पनि प्रहरीले २२ बढीलाई पक्राउ गरिसकेको छ ।

उच्च निगरानीमा प्रहरी
यसैबीच, सरकारले विप्लप नेतृत्वका नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नवलपुरमा स्थानीय तहका जनप्रतिनिधिहरुमा चन्दा र राजीनामा जस्ता खबरहरुले चर्चा पाइरहेको बेला ती स्थानीय तहहरुमा समेत सुरक्षा व्यवस्था मजबुद पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटले सोमबार बिहान कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सादा पोशाकमा पनि प्रहरी ठाउँ ठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढङ्गले निगरानी राखिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७