जनताको जलविद्युतमा सभामुख महरा सहभागी, साञ्जेन र रसुवाको किने शेयर


६ बैशाख २०७६, शुक्रबार
krishna bahadur mahara

काठमाडौं, ६ वैशाख ६ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ शुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

40f487fb dbfb 4c1f 9003 a75d60182141

देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै यो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफल समेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरा समेत जोडिएका छन् ।

सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेका छन् । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयर समेत सभामुख महराले खरीद गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरिद गरेका हुन् । पहिलो पटक साधारण शेयर खरिद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे ।

सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, ‘यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।’

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता साधारण शेयर खरिद गरी शेयर बजारमा प्रवेश गरेका छन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएकी छन् ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजार रुपैयाँको पाँच सय कित्ता साधराण शेयर आवेदन दिएकी छन् ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएकी थिइन् । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गरेका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेका थिए ।

सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७