काठमाडौं भ्यूटावर निर्माण सुस्त, अहिलेसम्म जमीनमुनिको ८० प्रतिशत मात्रै काम

अपेक्षाअनुसार काम नभएपछि एक वर्ष म्याद थप


८ बैशाख २०७६, आईतवार
view tour

काठमाडौं, ८ बैसाख । काठमाडौं भ्यूटावर (दृष्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।

निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ ।

view tour

निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिए पनि अन्य काम शुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख ध्रुव काफ्ले बताउँछन् ।

उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो । भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ । प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी) मोडलबाट निर्माण यस भ्यूटावरको उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको थियो ।

‘नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ’, कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख काफ्लेले भने । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको हो ।

शुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिए पनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयका काम सकिनेमा कामपाले विश्वास लिएको छ ।

सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउने छन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिलेभने काम भइरहेको छ ।

निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनु पर्नेछ ।

स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहने छ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालय समेत रहने छन् ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लो घर नेपाली कला संस्कृति झल्किने खालको हुनेछ । कुल क्षेत्रफलको ४० प्रतिशत भू–भागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ ।

कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवत–जावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ ।

बस बिसौनी जस्तो फराकिलो नभएको हुँदा मानिस खुला मञ्चमा खुम्चिएर आवत–जावत गर्न बाध्य भएका छन् । आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृष्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवत–जावत गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७