पयर्टकका लागि ‘इन्जोय जोन’, सँगै २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य


२५ बैशाख २०७६, बुधबार
pokhara 1

पोखरा, २५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस शुरु गरेपछि निकै आलोचना भयो । भदौ २६ गते गुरुङले रेडलाइट एरिया तोकिनुपर्ने र यौन पेशालाई व्यवस्थित गर्न यौनकर्मीलाई परिचयपत्रको व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

नागरिकस्तरबाट चर्को विरोध आएपछि उनले त्यसको बचाउ गर्दै ‘आफूले रेडलाइट एरिया खोल्ने नभनेको तर, बहसमा ल्याउन जरुरी रहेको’ स्पष्टिकरण दिए । त्यससँगै यो बहस सेलाएको थियो । अब प्रदेश सरकारका मन्त्री विकास लम्सालले अर्को बहस शुरु गरेका छन्, पर्यटकका लागि इन्जोय जोन ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले मनोरञ्जनात्मक क्षेत्र अर्थात इन्जोय जोन बनाउने योजना बनाएको छ । इन्जोय जोनलाई धेरैले ‘रेडलाइट एरिया’ कै विकसित रुप भनेका छन् । तर, मन्त्रालयले रेडलाइट यरिया र इन्जोय जोन फरक भएको स्पष्टिकरण दिएको छ । ‘इन्जोय जोनलाई गलत अर्थमा अथ्र्याएर प्रदेशको बदनाम गर्न खोजिँदैछ । वास्तवमा हामीले पर्यटक रमाउने क्षेत्रको परिकल्पना गरेका हौं,’ गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

मन्त्री लम्सालले इन्जोय जोन पोखरामै बनाइने त्यो रेडलाइट एरिया नभई पर्यटकीय एरिया हुने प्रष्ट्याए । उनले भने, ‘त्यो क्षेत्रमा बाह्य कुनै पनि डिस्टर्ब हुँदैन । २४ सै घण्टा खुल्ला हुन्छ ।’ पोखराको पामे क्षेत्रमा इन्जोय जोन बनाइने मन्त्री लम्सालले बताए । उनले पर्यटकले हिमाल र ताललाई एकैचोटी दृष्यावलोकन गर्दै मनोरञ्जन गर्न पाउने उपयुक्त ठाउँ खोजिरहेको बताए ।

‘तोकिएको एरियामा उनीहरुले खाने, बस्ने, सुत्ने, पार्टी गर्नेलगायत ‘अन्य मनोरञ्जन’ पनि गर्न पाउँछन् । त्यहाँ कसैले डिस्टर्ब गर्दैन,’ उनले भने । अन्य मनोरञ्जनमा कानुनले वर्जित गरेका बाहेक पर्यटकले आफूले चाहेको कुनै पनि प्रकारको मनोरञ्जन गर्न पाउने उनको भनाइ थियो ।

इन्जोय जोन योजनाको जिम्मा निजी क्षेत्रलाई जिम्मा दिने तयारी छ । इन्जोय क्षेत्रमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, क्यासिनोदेखि ज्याकोजीसम्म हुने उनले बताए । यस योजनाका लागि प्रदेश सरकारले अध्ययन, अनुसन्धान र डीपीआर तयार गर्न ९ करोड बजेट छुट्याएको छ ।

‘यसको डीपीआर गर्न शुरु गरिसकेका छौं । चालु आर्थिक वर्षकै अन्त्यतिर डीपीआर सकिसक्छ,’ उनले भने । इन्जोय जोन भइसकेपछि पोेखरामा पर्यटकको बसाइँ अझै लम्बिने उनले विश्वास राखेका छन् । इन्जोय जोन २४ सै घण्टा खुल्ने भएकाले त्यहाँ प्रहरी हस्तक्षेप नहुने तर सुरक्षाको जिम्मवारी प्रदेश सरकारले लिने उनले प्रष्ट्याए ।

‘प्रदेशले २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोही योजनालाई पूरा गर्न हामीले यो योजना ल्याएका हौं,’ उनले भने, ‘यसले पर्यटन उत्पादन बढाउन सहयोग गर्नेमा हामी ढुक्क छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७