परीक्षा दिंदा-दिंदै जन्मियो शिशु


२५ बैशाख २०७६, बुधबार
mina dhandi

बैतडी, २५ वैसाख । बैतडीको शिवनाथ गाँउपालिका–२ स्थित नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा आज एक परीक्षार्थीले परीक्षा दिंदा–दिंदै शिशुलाई जन्म दिएकी छन् ।

परीक्षा सञ्चालन भइरहेका बेला वडा नम्बर–६ की मिना धनाडीलाई सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरीको जन्माएकी हुन् ।

परीक्षाको आठौँ दिन ऐच्छिक विषय शैक्षिक मूल्यांकनको परीक्षा दिइरहेका बेला २४ वर्षीय धनाडीले बच्चा जन्माएकी रहेको शिक्षक गोपालसिंह महताले बताए । उनले भने, ‘३ वटा प्रश्नको उत्तर नलेख्दै ब्यथाले च्यापे छ, स्वास्थ्य चौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माइन् ।’

आमा र बच्चाको अवस्था राम्रो रहेको स्वास्थ्य चौकी अनमी कृष्णा चौधरीले बताइन् । उनले भनिन, ‘विद्यालय र स्वास्थ्य चौकी जोडिएको हुनाले कुनै जोखिम भएन, दुवैको हामीहरुले हेरविचार गरिरहेका छौ ।’

छुटेको परीक्षा स्वस्थ भएपछि दिन लगाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । उनले भने, ‘छुटेको परीक्षा दिनसक्ने भए व्यवस्था मिलाउनेछौँ ।’ परीक्षा हलमा समस्या हुने भए स्वास्थ्य चौकीमै दिने वातावरण बनाउने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७