पानीको पिरलोमा सिङ्गो गाउँ

पानी प्रशस्त पिउनु पर्छ भनेर कक्षामा पढाए पनि न त शिक्षकले प्यास मेटिने गरी पानी पिउन पाउँछन्, न विद्यार्थीले नै


२७ बैशाख २०७६, शुक्रबार
Lack of water

काठमाडौं (इलाम) २७ बैसाख । स्वास्थ्यकर्मीहरुले अधिकांश मानिसमा कम पानी पिउने आदतका कारण स्वास्थ्य समस्या देखिने भन्दै पानी बढी पिउन सल्लाह–सुझाव दिन्छन् ।

तर, इलामको चुरे क्षेत्रका धेरैले गर्मी न जाडो तिर्खा मरुञ्जेल पानी पिउँदैनन् । यहाँका बासिन्दाले तिर्खा नलागेर वा स्वास्थ्यकर्मीहरुको सुझाव बेठिक लागेर कम पानी पिएका भने होइनन् । गाउँमा खानेपानीको समस्या चर्को रहेका कारण टाढाबाट ढोकोमा ओसारेको थोरै पानीले दिनचर्या चलाउनु पर्ने भएका कारण प्रशस्त पानी पिउन नपाएका हुन् । पानीको पिरलो घरमा बसेकाहरुलाई भन्दा विद्यालय गएका विद्यार्थीहरुलाई बढी हुने गरेको छ ।

कक्षामा स्वास्थ्य शिक्षकले विद्यार्थीहरुलाई पानी प्रशस्त पिउनु पर्छ भनेर पढाए पनि न त विद्यालयमा शिक्षकले प्यास मेटिने गरी पानी पिउन पाउँछन्, न त विद्यार्थीहरुले नै । जिल्लाको दक्षिणी चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानीको समस्या वर्षेनी चर्को बन्दै गएको छ ।

ती क्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या चर्को रूपमा देखिएको हो । विद्यालयमा खानेपानीको समस्या देखिन थालेपछि यहाँका अधिकांश विद्यार्थीले पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गरेका छन् ।

अहिले यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको त्यहाँका शिक्षक–विद्यार्थी बताउँछन् । खानेपानी नभएकै कारण दानाबारीस्थित कन्काई मावि र दीपज्योति प्राविका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेका छन् । गाउँबाट खोजेर एक गाग्रो पानी ल्याए पनि यो अपुग हुने गरेको सो विद्यालयले जनाएको छ ।

कन्काई माविका शिक्षक खेमराज लिम्बू तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउँदै भन्छन्–‘पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनः कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनु पर्छ ।’

अत्यधिक वन फँडानी र संरक्षण नहुँदा चुरे क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । चुरे क्षेत्रका चुलाचुली, दानाबारी, महमाई, साकफारा, बाँझोलगायतका गाउँहरुमा अहिले खानेपानीको चर्को अभाव देखिन थालेको स्थानीयले बताएका छन् ।

साविकको दानाबारी २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एक करोड ६७ लाखको लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत सञ्चालित चार सय २२ धारामध्ये यतिखेर ८–१० धारामा मात्र मुस्किलले पानी आउने गरेका छन् ।

दानाबारीको गंगटेस्थित माझीटार र महमाईको कलकते चुलीका बासिन्दा अहिले खानेपानी अभावले गर्दा समस्यामा छन् । ‘खोला छेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युबवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएका छन्’–दानाबारीका सूर्य सुब्बाले भने, ‘पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो तर अहिले त्यसका लागि २५–३० फिट खन्नुपर्छ ।’

महमाईमा सुनगाभा विकास संस्था इलामले खानेपानी आयोजना निर्माण सम्पन्न गरेपछि अहिले यहाँका बासिन्दालाई केही राहत पुगेको छ । आयोजनाबाट ५२ वटा धारा सञ्चालन गरिएको छ । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी पिउने छन् । मुहान सुक्न थालेपछि चुरे क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या बर्षेनी चर्को बन्दै गएको हो ।

बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहाँका बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र बस्तुभाउलाई खुवाउन पानीको समस्या हुन थालेको छ । यस क्षेत्रका बासिन्दाले चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीको स्रोत घटेको थाहा पाउँदा समेत वन विनाश भने घट्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७