एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’, यस्ता छन् आकर्षक सुविधा


३१ बैशाख २०७६, मंगलवार
Ncell brand logo

काठमाडौं, ३१ वैसाख । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रालिले मंगलबारदेखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र ११० रुपैयाँ (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् ।

यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटवर्कभित्र कुरा गर्न प्रयोग गर्न सकिने छ ।

‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचालु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार ४९० रुपैयाँदेखि १ हजार ९६० रुपैयाँसम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजना अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् ।

पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहितमात्र ४९० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभि प्याक लिन सक्नेछन् ।

मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित ९८० रुपैयाँमा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याकअन्तर्गत कर सहित १ हजार ४७० रुपैयाँमा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहने छ ।

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले कर सहित १ हजार ९६० रुपैयाँमा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउने छन् ।

‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार सुचारु गर्न सक्नेछन् । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

सुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि विस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७