नेपालकै होचो ठाउँ कचनकवलको काँचुली फेर्न बन्यो गुरुयोजना

झापा, २ जेठ । सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’ लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान कचनकवल प्राय सुनसान जस्तै देखिन्छ । झापाको दक्षिणी कचनकवल गाउँपालिका–४ मा साढे चार बिघा क्षेत्रफलमा फैलिएको सो क्षेक्रमा २०४४ सालमा गाडिएको अग्लो कंक्रिटको स्तम्भ र सानो हवाई घरबाहेक कुनै पनि आकर्षणका पूर्वाधार निर्माण भएका छैनन् । जाने सडक पनि कच्ची र वर्षात्मा हिलो हुने खालको छ ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा अवस्थित ‘कचनकवल’लाई गाउँपालिकाले मुलुककै उत्कृष्ट गन्तव्य बनाउन जुटेक छन् । यसका लागि ‘कचनकवल स्तम्भ तथा झिल व्यवस्थापन गुरुयोजना’ अनुमोदन गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउँछन् । उक्त गुरुयोजना निर्माणका लागि झन्डै रु २० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

गुरुयोजना बमोजिम काम शुरु गर्नका लागि प्रदेश नं १ सरकारले चालू आवमा रु ५० लाख बजेट विनियोजन गरेर पठाएको र गाउँपालिकाले पनि रु १४ लाख छुट्याएको अध्यक्ष आलमले जानकारी दिए ।

‘तपाई एक वर्षपछि यहाँ आउनुहोस्, कचनकवलले काँचुली फेरिसकेको हुनेछ,’ कुराकानी गर्दै अध्यक्ष आलम भन्छन्, ‘अहिलेको मूल स्तम्भ बिगार्दैनौँ तर यहाँको वातावरण पूरै नयाँ र प्राकृतिक बनाउँछौँ ।’

नेपालकै होचो स्थान भएका कारण कचनकवलको ठूलो महत्व छँदैछ, त्यसमाथि यस स्थानबाट संसारकै अग्लो चुचुरो सगरमाथा छर्लङ्ग हेर्न पाइनु अर्को आकर्षणको विषय भएको छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकन पनि गर्न सकिन्छ । गाउँपालिकाले पारित गरेको गुरुयोजनामा कचनकवलको दुई हजार २०० वर्गमिटर क्षेत्रफललाई तलाउहरुले घेरेर सुन्दर पार्क बनाउने उल्लेख छ ।

हाल नजिकै रहेको केचनाबजारदेखि स्तम्भसम्म पुग्न दुई हजार २०० मिटर कच्ची मोटर बाटो छ । गुरुयोजनामा केचनाबजारबाट डुङ्गा चढेर स्तम्भ अवलोकन गर्न जाने सकिने गरी तलाउहरु निर्माण गरिने उल्लेख छ । केचनाबजारका चार वटा तलाउलाई जोड्ने र स्तम्भ रहेको जग्गामा नयाँ तलाउ निर्माण गरेपछि लामो दूरीसम्म डुङ्गा चलाउन सम्भव हुने गाउँपालिकाका इञ्जिनीयर अमित ढुङ्गाना बताउँछन् ।

तलाउभित्र स्तम्भ राख्ने र स्तम्भको आधारशिलाका रुपमा २० फिट लामो माछाको आकृति राखिने गुरुयोजनामा उल्लेख छ । माछाको आँखाको भागमा स्तम्भ ठडिएको हुनेगरी गुरुयोजना डिजाइन गरिएको छ ।

राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको कचनकवलमा पर्यटकीय प्रवर्धननका लागि आदिवासी जातिको घरबास (होमस्टे) निर्माणका लागि समेत गुरुयोजनामा बजेट छुट्याइएको छ । स्तम्भ रहेको क्षेत्रमा व्यवस्थित खाजाघर, नौकाविहार र शौचालयको सुविधा उपलब्ध गराइए पनि आवासका लागि भने स्तम्भ बाहिरको घरबास र होटलमा जानुपर्ने नियम बनाइने गाउँपालिकाका सूचना अधिकारी केशव मैनाली बताउँछन् ।

आगामी पाँच वर्षभित्र गुरुयोजनाबमोजिमको संरचना सबै तयार भइसकेर पर्यटकीयस्थल सञ्चालनमा आइसक्ने उनले बताए । गाउँपालिकाले कचनकबलको पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनी बताउँछन् ।

भद्रपुर विमानस्थलबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान कालोपत्र सडक निर्माण अन्तिम चरणमा पुगिसकेको छ । दुई तिहाइ सडकमा कालोपत्र भइसकेको छ भने अरू भागमा धमाधम काम भइरहेको छ । विगतमा यातायातको असुविधाका कारण समेत पर्यटकहरु कचनकबल जान रुचाउँदैन थिए ।

प्रदेश नं १ सांसद वसन्त बानियाँले ‘मुलुककै होचो’ भूमिको प्रचार धेरै भए पनि पर्यटकीय आकर्षणका लागि अहिलेसम्म उल्लेख्य पूर्वाधार नबनाइएको हुँदा ‘कचनकवल’ को विकासका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताउँछन् । उहाँले प्रदेश नं १ को मुख्य लक्ष्य नै कृषि र पर्यटनको सम्वर्धन, प्रवर्धन गर्ने भएको हुँदा कचनकवलको एकीकृत विकासका लागि चालू आवमा प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको बताए ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देन स्थायी पर्यटकीयस्थलका रुपमा पहिचान पाइसकेको हुँदा तीन तहकै सरकारबाट कचनकवलले बजेट पाउने र केही वर्षमै यहाँ पर्यटकको ओइरो लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्