ओलाङचुङ्गोलावासी गाउँ नै रित्तो बनाएर बाटो निर्माणमा


१२ जेष्ठ २०७६, आईतवार
TAPLEJUNG

ताप्लेजुङ, १२ जेठ । अरु समयमा गलैंचा बुन्न र घरायसी काममा व्यस्त हुने ओलाङचुङ्गोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रबन्धसहित झण्डै चार हजार मिटर उचाइको हाराहारीमा पर्ने थाङ्जेमा पुगेकी छन् ।

उनीसहित करीब २५ जना महिलासँगै छन् । पुरुष समेत गरेर झण्डै ७० जना ओलाङचुङ्गोलावासी खाने बस्ने प्रबन्धसहित ग्रेट हिमालयन ट्रेलअन्तर्गत पर्ने नागोदेखि थाङ्जेसम्मको पदमार्ग निर्माण तथा स्तरोन्नतिका लागि शनिबार त्यहाँ पुगेका हुन् ।

असार मसान्तसम्म उनीहरु उक्त पदमार्गमा सोलिङ हाल्ने तथा स्तरोन्नति गर्ने काममा नै व्यस्त हुनेछन् । काम गर्नुपर्ने ठाउँ बस्तीदेखि निकै टाढा रहेकाले उनीहरु खाने, बस्ने प्रबन्धसहित गएका हुन् ।

प्रदेश सरकारबाट पदमार्ग सुधारका लागि विनियोजित ५० लाख रुपैयाँको काम सक्न उनीहरु घर गाउँ छाडेर यसरी कस्सिएका हुन् । गाउँ छाडेर सबैजना काममा हिंडेपछि गाउँ नै सुनसान बनेको छ । जेठ लाग्दासम्म बाक्लो हिमपात हुने भएकाले यो क्षेत्रमा यसअघि काम गर्न नसकिएको घाङ्लुङ संरक्षण उपभोक्ता समितिको अध्यक्ष छेतेन शेर्पाले बताए ।

‘झण्डै तीन हजार ८०० मिटरदेखि चार हजार मिटरको उचाइसम्म पर्ने पदमार्गको स्तरोन्नतिको काममा हिउँ परेकाले अवरोध भयो, अहिले अलि कम भएकाले सबै गाउँलेलाई समूह समूहमा विभाजन गरेर काममा खटाएका हौँ, शनिबार झण्डै ७० जनाको हाराहारीमा गाउँले कार्य क्षेत्रमा पुगेका छन्’ अध्यक्ष शेर्पाले भने । असार मसान्तसम्ममा जसरी पनि योजना सम्पन्न गर्नुपर्ने हुँदा गाउँले सबै मिलेर लागि परेको उनले बताए ।

ठूलो संख्यामा कामदार पुगेकाले समयमा नै काम सकिने उनको भनाइ छ । उनका अनुसार प्रत्येक घरबाट एक जनादेखि तीन जनासम्म संलग्न छन् । करीब पाँच किलोमिटर पदमार्गभित्र आवश्यकपर्ने ठाउँमा सोलिङ गर्नुपर्ने साथै बाटो पन्छाउनु पर्नेछ ।

कामदारलाई तीन समूहमा विभाजन गरिएको छ । पदमार्गलाई समेत विभिन्न भागमा विभाजित गरेर सबै समूहलाई काम गर्न सजिलो, अप्ठ्यारो भाग बराबरी पर्ने गरी मिलाइएको छ । काम गर्ने हरेक समूहको नेतृत्वकर्ता छनोट गरिएको छ भने समितिका पदाधिकारी तथा सदस्यसमेत सबै समूहमा सामेल छन् ।

यता रोजगारीसहित आफ्नो गाउँठाउँको विकासमा आफैँ जुट्न पाउँदा स्थानीयवासी खुशी छन् । ‘पहिले जस्तो पशुपालन, व्यापार व्यवसाय छैन, दुःख छ, आजभोलि वडाको योजनाका काम पाइन्छ, अब पदमार्गको काममा समेत जान पाइएको छ, खुशी छौं’, स्थानीय छिरिङ शेर्पाले भने । यसअघि वडाको योजनाअन्तर्गत बस्तीमा नै ढल निर्माण गर्नेलगायतका काममा स्थानीय नै सामेल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७