देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन

काठमाडौं उपत्यकामा थपिए तीन लाख गाडी


१४ जेष्ठ २०७६, मंगलवार
koteswar ko jam

काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन थपिएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको संख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ ।

सङ्घीय संसद्मा सोमबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशभरमा रहेका कूल सवारी साधनमध्ये ७८ दशमलव ६ प्रतिशत मोटरसाइकल छन् । विसं २०४६–४७ देखि गत आवसम्ममा देशभरमा जम्मा ३२ लाख २१ हजार ४२ सवारी साधन दर्ता भएका थिए ।

चालु आवको शुरुदेखि अहिलेसम्म ५ लाख ५७ हजार २९८ ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण भएको सर्वेक्षणमा उल्लेख छ । गत आवसम्ममा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण गरिएको थियो । सङ्घीय सरकारले देशभरमा रहेका यातायात व्यवस्था कार्यालय र तिनले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

गएको मंसिरदेखि कार्यालयहरू पूर्णरूपमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण गरिएको छ । ती कार्यालयले स्मार्ट चालक अनुमतिपत्र वितरणलगायत काम शुरु गरेका छन् । सडक दुर्घटना घटाउन सडक दुर्घटना सूचना प्रणाली सफ्टवेयर काठमाडौँ उपत्यका र काठमाडौँ–वीरगञ्ज करिडोरमा लागू भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७