बन्द ढोका


२५ जेष्ठ २०७६, शनिबार
door

सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट । उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक ।

म बार्दलीमा बसिरहेको थिएँ । बच्चाले ढोकाबाट चिहायो । मैले मुस्काउँदै बोलाएँ । ऊ मेरो काखमा आएर बस्यो ।

उसको बदमासी शुरू भयो । कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागजतिर । मैले काखबाट उतारी दिएँ । ऊ कुर्सीको खुट्टा समातेर उभिइरह्यो । घर गएन । ढोका खुल्लै थियो ।

एउटा भँगेरो उफ्रँदै आयो नजिकै बस्यो । बच्चोलाई खेल्ने नयाँ सामान भइहाल्यो । ऊ भँगेरोतिर लम्क्यो । भँगेरो पनि भागेन । बच्चोलाई लाग्यो कि यो पखेटावाल खेलौना हात आयो । बसेर दुवै हातले भँगेरोलाई बोलाउन थाल्यो । भँगेरो उड्यो, निराश बच्चो रून थाल्यो । तर अँझै भित्र ढोकातिर हेर्दै हेरेन । ढोका खुल्लै थियो ।

तातो–तातो मिठाईवालाको मीठो निमन्त्रण आयो । बच्चोको अनुहार उत्साहका साथ हँसिलो भयो । मिठाईवाला नजिकैबाट गयो । बच्चोले मतर्फ याचना मिश्रित नजरले हेर्‍याे । जसोजसो मिठाईवाला टाढा हुँदै गयो, याचनायुक्त आँखाहरूमा रिस देखा पर्न थाल्यो । यहाँसम्म कि जब मोड आयो र मिठाईवाला आँखाबाट ओझेल भयो, त्यो रिसले अनुरोधको रूप लियो ।

तर म बजारको खानेकुरा बच्चालाई दिने पक्षमा थिइनँ । बच्चोको अनुरोधले मलाई कुनै असर गरेन । म अँझ अगाडिको कुरा सोचेर अँझै कठोर भएँ । थाहा छैन कि बच्चोले आमाको अदालतमा रिट हाल्ने आवश्यकता सम्झ्यो वा सम्झेन । सामान्यतया बच्चाहरू यस्तो अवस्थामा आमासँग शिकायत गर्ने गर्छन् । शायद उसले केहीबेरको लागि शिकायतलाई स्थगित गर्‍यो । ऊ अझै पनि ढोकातिर बढेन । ढोका खुल्लै थियो ।

मैले आँशु पुछिदिने बिचार गरेर आफ्नो हातको कलम उसको हातमा राखिदिएँ । बच्चोलाई सारा संसार जिते सरह भयो । उसको पूरा ज्ञानेन्द्रियहरू यो नयाँ समस्याको समाधानतर्फ केन्द्रित भए । एकाएक ढोका हावाले आफैं बन्द भयो । ढ्याम्म ढोकाको आवाज बच्चोको कानमा आयो । उसले ढोकातिर हेर्‍याे । उसको व्यस्तता तत्काल गायव भयो । उसले कलम फ्याँकी दियो र रूँदै ढोकातर्फ अगाडि बढ्यो किनभने ढोका बन्द भएको थियो ।
एकदेव अधिकारी (अनुदित कथा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७