उत्तर कोरियामा मृत्युदण्ड दिइने ३१८ स्थान पत्ता लाग्यो


२९ जेष्ठ २०७६, बुधबार
korea

काठमाडौं, २९ जेठ । दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३१८ वटा स्थानको पहिचान भएको जनाएको छ ।

ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले चार वर्षको अवधिमा ६१० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्यु दण्ड दिइएका स्थान पहिचान गरेको जनाएको हो । प्रतिवेदनमा गाई चोरी गरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेकोसम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ ।

समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ । ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ ।

मृत्युदण्ड दिइने मानिसका आफन्त तथा नाबालकलाई कतिपय घटना हेर्न बाध्य पारिएकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ । उत्तर कोरियाका जेल र श्रम शिविर जस्ता बन्दी गृहमा पनि मृत्युदण्ड दिने गरिएको छ ।

बन्दी गृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसलाई खानी उत्खनन् र रुख कटानी जस्ता शारीरिक श्रम गर्न बाध्य पार्ने गरिन्छ । उत्तर कोरियाली भगौडाहरुले दिएको जानकारीअनुसार अधिकांशलाई गोली हानेर मृत्युदण्ड दिने गरिएको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७