जापान उडान नहुँदै टिकटको ठेक्का हत्याउन को-को लागे ?


२९ जेष्ठ २०७६, बुधबार
nigam

काठमाडौं, २९ जेठ । नेपाल वायुसेवा निगमले वाइडबडी खरिदका लागि लिएको ऋणको ब्याजसमेत तिर्न नसकिरहेको बेला केही हवाईमाफियाहरु भने जापानको टिकट बिक्रीको एजेन्सी(जीएसए) लिन शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् । आगामी जुलाई १ बाट निगमले जापानको ओशाकामा उडान सुरु गर्न लागेकोमा प्राविधिक कठिनाइका कारण पुनः अगष्टका लागि सारेको छ । जापानमा उडान सुरु हुने भएपछि जीएसएका लागि विभिन्न शक्तिकेन्द्रमा धाउने क्रम सुरु भएको छ ।

जीएसएका लागि निगमले मागेको आवेदनमा कोही पनि छानिन सकेका थिएनन् । प्रक्रिया नै पूरा नगरेका कारण कोही पनि छानिन नसकेपछि निगमका प्रमुखलाई नै जीएसए छान्ने अधिकार विनियमले दिएको छ । त्यही प्रक्रिया अनुसार जीएसएका लागि एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेकपाका विभिन्न नेतामार्फत् मात्र होइन, अध्यक्ष पुष्पकमल दाहालमार्फत् समेत भनसुन गराएका छन् । उनले एक पत्रकारको टीभीमा लगानी गरी तिनै पत्रकारलाई बिचौलियाका रुपमा लिएर नेताहरुको घर घर धाउँदै निगमका कार्यकारी अध्यक्षलाई जापानको जीएसएका लागि दबाब दिने गरेका छन् । नेताहरुले पनि ती पत्रकारसँग नतमस्तक भएर हिराचनलाई जीएसए दिन फोन गर्ने गरेका छन् ।

निगमले भने जापानमा जीएसए नराखी कर्मचारी राखेर टिकट बिक्री गर्ने तयारी गरेको छ । जीएसएका लागि बार्षिक ४ करोड रुपैयाँ कमिसन दिनुपर्ने हुन्छ । कर्मचारी राख्दा बार्षिक १ देखि १ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान निगमले गरेको छ । वाइडबडीको ऋणको ब्याजसमेत तिर्न मुस्किल भएको निगमलाई कर्मचारी राखेर टिकट बिक्री गर्दा झन्डै ३ करोड रुपैयाँ फाइदा हुने देखिन्छ । कर्मचारी राख्दा मितब्ययी हुने देखिए पनि हवाई माफियाहरु जीएसए दिनैपर्ने कोकोहोलो मच्चाउँदैछन् । त्यसका लागि बढी लाग्नेमा देवमान हिराचन देखिएका छन् । उनी जीएसएबापत प्राप्त हुने मुनाफाको आधा रकम नै घुस बुझाएर भए पनि लिन अहोरात्र बीचौलिया लिएर नेताहरुकोमा धाइरहेका छन् । उनी आफू निगमको उडान नहुँदा पनि प्रतिनिधि भएको दलील पेश गर्दै जीएसए लिन दौडधुपमा छन् । नेकपाका बरिष्ठ नेताहरुको नाम लिंदै अर्को हुल पनि जापानको जीएसएका लागि निगममा धाइरहेको छ ।

यसअघि सुगतरत्न कंसाकारले संचालक समितिको निर्णयविना नै कोरियामा जीएसए नियुक्त गरेको बिषय पनि उठेको छ । निगमको विनियममा जीएसए नियुक्तिका लागि संचालक समितिबाट निर्णय गराउनुपर्ने ब्यवस्था छ । तर कंसाकारले सुटुक्क कोरियाको लागि जीएसए नियुक्त गरेका थिए । कोरियाको जीएसए नियुक्तिमा ५५ लाख घुस कारोबार भएको कुरा संचालक समितिकै सदस्यहरुले खोल्न थालेका छन् । विनियम विपरीत घुस लिएर कोरियाको जीएसए नियुक्त गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको छ । कोरियामा निगमको उडान नभए पनि कंसाकारले जीएसए नियुक्त गरेका थिए । उडान नै नभएको देशमा जीएसए किन चाहियो, त्यसलाई भने बुझिनसक्नु बिषयका रुपमा लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७