मन्त्रीको राजीनामा माग्दै सत्तारुढ सांसदले नै फर्काए ‘रातो किताव’

‘बजेट पारिदिन मन्त्रालय चहार्दा जुत्ता फाट्यो, अहिले बजेट नपर्दा मन फाट्यो’


४ असार २०७६, बुधबार
lalbahadur thapa 2A5zhgBikr

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बुधबारको वैठकमा अधिकांश सांसदहरुले बजेट बाँडफाँडमा व्यापक विभेद भएको गुनासो गरेका छन् ।

विपक्षी दलका सांसद मात्र होइन सत्तारुढ नेकपाका अधिकांश सांसदहरु नै बुधबारको वैठकमा सरकारप्रति खरो उत्रिए । बजेट विनियोजनामा पक्षपात गरिएपछि आक्रोशित बनेका उनीहरुले आफ्नै सरकारका मन्त्रीको राजीनामा समेत मागेका छन् ।

बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रका योजनामा मात्र पारेपछि उनीहरु संसद बैठकमा आक्रोशित बनेका हुन् । उनीहरुले रातो किताब समेत फिर्ता गरे । नेकपा सांसद लालबहादुर थापा, राजेन्द्रप्रसाद गौतम र सुदन किराँतीले विरोधमा सभामुखमार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता समेत गरेका छन् ।

बाजुराबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।

उनले पूर्वाग्रही भएको, धेरै बजेट आफ्नो जिल्लामै मात्रै विनियोजन गरेको, समानुपातिक विकासको सिद्धान्तको खिल्ली उडाएको र पदीय जिम्मेवारी भुलेर राज्यको वित्तीय स्रोत दुरुपयोग गरिएको भन्दै महासेठलाई कार्बाही स्वरुप पदमुक्त गरिनुु पर्ने माग समेत राखे ।

आफ्ना जिल्लामा विकास निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दा जनप्रतिनिधिसँग हुकुमी शैलीमा प्रस्तुत हुने गरेको आरोप समेत उनले लगाए । ‘मन्त्रीलाई हेर्नै नहुने भयो । जनताका माग राख्न जाँदा हप्की खानुपर्ने अवस्था छ ।’ उनले थपे, ‘त्यस विषयमा कुरा उठाउँदा पूर्वाग्रही भएर बजेट शून्य बनाइएको छ ।’

आफ्नो जिल्लाका लागि बजेट नै विनियोजन नगरेको भन्दै उनले विनियोजन विधेयक बहिष्कार गर्दै भने, ‘यो किताब लिन सक्दिनँ । आफ्नो जिल्लामा योजना नभएको किताब बाजुरेली जनतामाझ कसरी लैजानु ?’ मन्त्री महासेठको धनुषा जिल्लामा मात्रै ७९ आयोजना रहेको उनले आरोप लगाए । हिमाली २० जिल्लालाई योजनाशून्य बनाएको आरोप पनि थापाले लगाएका थिए ।

यस्तै भोजपुरका सांसद सुदन किराँतीले बजेटअघि योजना पारिदिन मन्त्रालय चहार्दा जुत्ता फाटेको तर, जिल्लाका आयोजनामा बजेट विनियोजन नगर्दा मन फाटेको बताएका छन् ।
उनले योजना नभएको किताब बोक्नुको कुनै अर्थ नरहने भन्दै आफू पनि रातो किताब फिर्ता गरेको घोषणा गरे । भोजपुरलाई विकास योजनाबाट हटाए पनि पनि नेपालको मानचित्रबाट हटाउन नसक्ने चेतावनी उनले दिए ।

बजेट नेतामुखी भएको भन्दै उनले राष्ट्रपति विद्या भण्डारीको एउटै टोलको बाटोका लागि ६ ठाउँमा बजेट छुट्टाइएको दृष्टान्त पेश गरेका थिए । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको नारा भए पनि मन्त्रीले आफ्नो क्षेत्रमा १७ वटा योजना पारेको भन्दै उनको स्तर, योग्यता र अवस्थामाथि प्रश्न उठेको किराँतीले उल्लेख गरेका थिए । संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमले मन्त्री महासेठको जिल्ला धनुषामा १७ वटा पर्दा आफ्नोमा एउटा पनि नपरेकोमा आपत्ति जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७