निर्मला हत्या प्रकरण नयाँ मोडमा, तत्कालीन डीएसपीसहित चार जनाविरुद्ध जाहेरी


५ असार २०७६, बिहीबार
Nirmala panta

कञ्चनपुर, ५ असार । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना नयाँ मोडमा आइपुगेको छ ।

निर्मला पन्तको घटना अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन डीएसपीसहित चार जनाविरुद्ध जाहेरी परेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन डीएसपी कृष्णराज ओझासहित अन्य तीन प्रहरीविरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार जाहेरी दिएका छन् ।

pradeep n bishal
निर्मला बलात्कार तथा हत्या प्रकरणका दोषी भन्दै यातना दिइएका रावल र चौधरी । अहिले उनीहरुले आफूहरुलाई यातना दिने प्रहरीविरुद्ध नै उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा, भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थायी प्रहरी पोस्टका तत्कालीन प्रमुख (असई) रामसिंह धामी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका नाम र दर्जा थाहा नभएका दुई प्रहरीविरुद्ध चौधरीले जाहेरी दिएका हुन् ।

निर्मला हत्या प्रकरणमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए । दुवैलाई महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो ।

यसअघि उनीहरु दुवै जनाले आफूहरुलाई हत्या स्वीकार गर्न प्रहरीले शारीरिक र मानसिक यातना दिएको बताएका थिए । यातना दिएर निर्दोषलाई घटना कबुल गर्न लगाइएको समाचार प्रकाशित भएपछि र डीएनए रिपोर्ट नमिलेपछि उनीहरुलाई प्रहरीले छाडेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको विशालले बताएका छन् । ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डराउने काम भयो, आँखामा पट्टी बाँधेर कुटपिट भयो’, विशालले भने, ‘त्यसैले यातना विरुद्धमा ती प्रहरीविरुद्ध जाहेरी दिएको हुँ ।’

यता अधिकारकर्मीहरुले प्रदीप काठमाडौंबाट पक्राउ परेकोले त्यहींबाट पनि मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएका छन् । निर्मला हत्याको लामो समय बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्नै सकेको छैन । अहिले पनि निर्मलाको हत्यारा पहिचानमा सुरक्षा निकाय चुकेको भन्दै विभिन्न ठाउँमा सार्वजनिक रुपमा सुरक्षा निकायको आलोचना भइरहेको छ । संसद वैठकमा अहिले पनि निर्मला हत्याको प्रसङ्गले बेला बखत ठाउँ पाइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७