सुन इतिहासकै महँगो, सिजनमै कारोबार ठप्प


६ असार २०७६, शुक्रबार
gold 1 1

काठमाडौं, ६ असार । बजारमा छापावाल सुनको मूल्य नेपालको इतिहासमै सबै महँगो बनेको छ । मूल्य उच्च विन्दूमा पुगेसँगै शुक्रबार बजारमा सुनको कारोबार ठप्प भएको छ । मूल्य बढेसँगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहीबार नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च थियो तर उक्त रेकर्ड शुक्रबार पुनः प्रतितोला एक हजारले नै बढेर तोडिएको छ ।

प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो । महासचिव बज्राचार्यका अनुसार बजारमा सुनको मूल्य बढ्नुमा कुनै आन्तरिक कारण भने छैन ।

इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हुन सक्ने बज्राचार्यले बताएका छन् । असार महिनामा धेरै विवाह हुने भएकाले सुन ब्यवसायका लागि सिजन मानिन्छ । तर मूल्य वृद्धिका कारण ग्राहकहरु सुनको मूल्य आरोलो लाग्ने पर्खाइमा देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७