प्रदेश-२ सरकार भ्रष्ट्राचारमा चुर्लुम्मै डुब्यो : प्रभु साह


११ असार २०७६, बुधबार
Prabhu saha madesh sambad

मधेसबाट तत्कालीन माओवादीहरु नेता निर्वाचनमा पराजित हुँदै थिए । कोही एक पटक चुनाव जित्दा अर्को निर्वाचनमा पराजित भए । तर, पहिलो संबिधान सभाको निर्वाचन, दोस्रो संबिधान सभाको निर्वाचनदेखि पछिल्लो समयमा भएको प्रतिनिधिसभाको निर्वाचनमा समेत लगातार तीन पटक निर्वाचित हुने प्रभावशाली एवम् बिकासप्रेमी नेता हुन प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय राजनीतिमा राम्रो प्रभाव भएका साह अहिले केन्द्रीय सदस्यसहित पार्टीको प्रदेश–२ का अध्यक्षको समेत भूमिकामा छन् । मधेसमा राम्रो प्रभाव भएकै कारण उनी तीन पटक मन्त्री समेत हुन सफल भए । मधेसको राजनीति, पार्टी एकता, लोकसेवाको बिज्ञापनलगायतका बिषयमा नेता साहसँग नयाँपेज डटकमका लागि सन्तोष साहले गरेको कुराकानीको सम्पादित अंश :-

तपाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर–२ को अध्यक्ष हुनुहुन्छ, प्रदेश नम्बर–२ मा अहिले नेकपा के गर्दैछ ?

हामीले कम्युनिष्ट पार्टीको सोच, योजना, कार्यदिशा जनतालाई सही ढङ्गले बुझाउने काम गरिरहेका छौं । कम्युनिष्ट पार्टीका बिरोधमा बिगतमा गरिएका प्रचार एवम् भ्रमलाई चिर्दै कम्युनिष्ट पार्टी के हो भन्ने कुरामा जनचेतना जगाउने काम गरिरहेका छौं ।

दोस्रो काम भनेको दुई ठुला कम्युनिष्ट पार्टीबीचमा एकीकरण भएपछि संगठन व्यवस्थापन गर्ने काम गरिरहेका छौं । पार्टी एकता भए पनि संगठन एकीकृत एवम् समायोजना हुन बाँकी छ । यस कामलाई टुङ्गो लगाउँदैछौं । हामीले नेता–कार्यकर्तालाई संगठनमा व्यवस्थापन गर्दै, उत्साहित बनाउँदै अगाडि बढदैछौं ।

तपाईले भन्नु भयो कम्युनिष्ट बिरोधी भ्रम चिर्दैछौ, के वास्तवमा नेपाल कम्युनिष्ट पार्टी मधेस बिरोधी पार्टी नै हो त ?

दुनियाँलाई थाहा छ कि कम्युनिष्ट भनेको बिभेद, उत्पीडन, शोषण तथा असमानताको बिरोधमा लड्ने पार्टी र बिचार हो । प्रदेश–२ सबैभन्दा बढी बिभेद, उत्पीडन, शोषण, असमानता भएको ठाउँ हो । तराई–मधेसमा भएका बिगतका कम्युनिष्ट आन्दोलनले पनि बताउँछ कि कम्युनिष्ट पार्टी मधेसबिरोधी होइन ।

बिगतमा किसान, मजदुरलगायतका आन्दोलन कम्युनिष्ट पार्टीकै नेतृत्वमा भएको हो । तर, केही समययता केही व्यक्तिले भ्रमको आधारमा, सम्प्रदायिकताको आधारमा आफूले राजनीतिक गर्न चाहेका छन् । कम्युनिष्ट पार्टीमा लिडरसिप हामी बिचार, सिद्धान्तको आधारमा मान्छौ, नश्लको आधारमा होइन ।

तर, केही व्यक्तिहरुले नश्ललाई आधार मानेर, अनुहारलाई आधार मानेर जसरी भ्रम छर्ने काम गरे, यो पार्टी पहाडीको पार्टी हो, आफ्नो अनुहार देखाएर मधेसीको पार्टी होइन भनेर भ्रमको खेती गर्ने काम भयो । बिगतमा गरेको काम, योगदान, बिचार, योजनालगायतलाई छोडदिने र नश्ल, भाषा, फेस वा संस्कृतिलाई जोडेर जसरी कम्युनिष्टलाई पहाडीयाको पार्टी हो, मधेसीको पार्टी होइन भन्ने भ्रम छर्ने काम भयो त्यो सही होइन् । अनुहार, सम्प्रदायले समाजलाई दिशा दिने होइन् । मुख्यतः बिचार र सिद्धान्तले नै समाज बनाउन सकिन्छ भन्ने हाम्रो बिश्वास हो । तर, बिगतमा छरिएको भ्रम हट्दै गएको छ ।

किनकी हिजो मधेसी अनुहार, मधेसी नश्लले मात्रै मधेसको कल्याण गर्न सक्छ भन्ने जुन भ्रम थियो, त्यो भ्रम बिस्तारै हट्दै गएको छ । अहिले प्रदेश–२ मा मधेसीकै सरकार छ । बिगतमा भ्रम छर्नेहरु पटक–पटक मन्त्री, सांसद भए, सत्ताको मुख्य ठाउँमा पुगे तर, मधेसको जुन अवस्था छ त्यसबाट मधेसका जनता बुझदै सचेत हुँदैछन् । त्यो भ्रम हट्दै गएको छ, जनता स्पष्ट हुँदै गएका छन् र कम्युनिष्ट पार्टीसँगै अगाडि बढने गरी जनता अगाडि बढदै छन् ।

कम्युनिष्ट पार्टीलाई बिगतमा लाग्दै आएको आरोपमा केही सत्यता पनि देखिन्छ, त्यसलाई तपाईहरुले कसरी हटाउने ?

त्यो भ्रम मात्रै हो, सत्यता केही छैन् । सत्यता केही देखिंदैन । किनकी मैले भने, नश्लले समस्याको समाधान गर्दैन, बिचार, सिद्धान्तले गर्ने हो । तपाई हेर्न सक्नु हुन्छ हाम्रै भूमिमा गौतम बुद्ध जस्ता मान्छे जन्मे । नश्लले उहाँलाई दुनियाँले भगवान मान्दैन् । उहाँको बिचार र योगदानले गर्दा दुनियाँले भगवान मान्छ । हामीले अहिले पनि माक्र्सलाई गुरुका रुपमा मान्छौ । 

तर, मार्क्स हाम्रै धर्तीका होइनन् । उहाँ एउटा बिचारक हुनुहुन्थ्यो । उहाँको बिचारलाई अहिले पनि हामीले मानिरहेका छौं । यसरी दुनियाँका कयौं बिचारकलाई हामीले सम्मान गर्छौं । उहाँहरुको बिचार, सिद्धान्तलाई हामीले सम्मान गरिरहेका छौं । नश्लको आधारमा हामीले मानेका हौइनौं । तर नश्लको आधारमा जुन भ्रम फैलाउने काम भयो त्यो क्षणिक थियो, बिस्तारै हट्दै गएको स्थिति छ ।

मधेस आन्दोलनले जुन संबिधान संशोधनको कुरा उठायो, बिगतमा नेकपाले पनि संशोधन गर्ने सहमति जनायो, त्यो चाँही किन नभएको ?

नेकपाले स्पष्ट रुपमा भन्दै आएको छ कि, यो संबिधान कुनै जडसूत्र होइन् । कुनै धर्मग्रन्थ पनि होइन् । समाजको नेतृत्व गर्ने गतिशिल एवं परिवर्तनशिल दस्ताबेज हो । यो समय, काल, परिस्थिति अनुसार संशोधन हुँदै जान्छ । यसलाई संशोधन गर्दै सबैलाई अपनत्व महसुस हुने गरी अगाडि बढदै जाने हो । स्मरण रहोस् बिगतमा कम्युनिष्ट पार्टीकै पहलमा संशोधन भएको हो, भोलि पनि हुन्छ । तर, कसैले हठ गर्दैमा, भन्दैमा गर्नैपर्छ भन्ने होइन । भोलिको समाज, देशको अवस्था हेर्दै संशोधन गर्नुपर्छ र हुँदै जान्छ ।

तपाई नेकपा प्रदेश–२ को अध्यक्ष, प्रदेश–२ का लागि तपाईको बिशेष योजना के छन् ?
प्रदेश २ नेपालकै सबैभन्दा पछाडि परेको प्रदेश हो । जसरी हामीले कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश हेर्छौ त्यो भौगोलिक हिसाबले नै दुर्गम थियो र पछाडि छ । तर, नेपालको प्रदेश–२ वा तराई–मधेस भौगोलिक रुपमा हामी सुगम पायौं । तर, त्यही मुलुकलाई ८० प्रतिशत भन्दा बढी आर्थिक योगदान गर्ने क्षेत्र नै मानव बिकास सूचकाङ्कमा पछाडि परेको छ ।

हामीले मुख्यतः मानव बिकास सूचकाङ्कमा पछाडि परेको क्षेत्रलाई अगाडि बढाउने प्रयासमा छौं । प्रदेश–२ सम्भावना नै सम्भावना भएको प्रदेश हो । त्यहाँ युवा जनशक्ति ठूलो छ । केही गरौं भन्ने सोंचका युवा जनशक्ति हामीसँग छन् । व्यापारिक, औद्योगिक सम्भावना भएको क्षेत्र हो २ नम्बर प्रदेश । कृषि, पर्यटनका लागि उर्वर ठाउँ भनेको प्रदेश–२ नै हो । जङ्गल, जमिन, जल भएको क्षेत्र हामीसँग छ । तर, पनि त्यहाँ मरुभूमि हुने, बेरोजगारी समस्या दिनदिनै बढ्दै जानु, मानव सूचकाङ्कमा पछाडि पर्दै जानु, दुनियाँलाई ज्ञान दिने ठाउँ साक्षरतामा पछाडि हुनु ।

यस्ता पीडादायी स्थितिबार्ट कसरी उन्मुक्ति दिने, नेपालको हरेक राजनीतिक आन्दोलनमा प्रमुख योगदान गर्दै आएको प्रदेश–२ लाई आर्थिक समृद्धिको लडाईमा कसरी सँगै अगाडि बढाउने भन्ने नै मुख्य उद्देश्य हो हाम्रो । भलै प्रदेश–२ मा मधेसी दलको जुन सरकार छ, त्यो भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । प्रदेश सरकारले जनतालाई निरास बनाउने काम गर्दैछ । भ्रष्टाचारलाई बढाउँदै गएको छ, त्यसबाट हामी चिन्तित छौं । तर, जनताको साथ सहयोगमै हामीले प्रदेश–२ लाई पनि समृद्ध प्रदेश बनाउनेमा बिश्वस्त छौं ।

मानव सूचकाङ्कमा माथि उठाउन, प्रदेश–२ लाई समृद्ध बनायन प्रदेश सरकारको कार्यशैली कस्तो रहेको पाउनु भएको छ ?

खासगरी प्रदेश–२ बिभेदमा परेको, पछाडि परेको, अपमानबोध गरेको प्रदेश भएकाले प्रदेश सरकारले त्यसलाई सम्मान दिलाउने, प्रदेश–२ एउटा सक्षम प्रदेश हो, सदाचारी प्रदेश हो, हामीले दुनियाँलाई दिशानिर्देश दिनसक्छौ, हाम्रा पूर्वजहरुले त्यही गर्न सिकाएको हो भन्ने काम अहिलेको सरकारले गर्नुपथ्र्यो भन्ने हाम्रो अपेक्षा हो । तर, बिडम्बना भनौं, प्रदेश सरकार गठनकै बेलादेखिको गतिविधि हेर्ने हो भने जम्बो मन्त्रीपरिषद गठन गरिएको छ ।

अरु प्रदेशमा ६–७ जना मन्त्री छन् भने प्रदेश–२ मा दोब्बर मन्त्रीहरु बनाइएका छन् । धनि प्रदेश भन्दा बढी तलब, सेवा सुबिधा गरीब प्रदेशका मन्त्रीहरुले लिईरहेका छन् । भ्रष्टाचारमा जसरी डुबिरहेको छ, त्यसबाट हामी धेरै चिन्तित छौं । प्रदेश सरकारका कार्यक्रम हेर्ने हो भने एउटा पनि देखिने, र राम्रा छैनन् । एउटा जिल्लामा अर्बौको बेजट जान्छ तर, कहीं पनि एउटा राम्रो काम भएको देखिंदैन । कार्यकर्ता पाल्ने र लुट्ने बाहेकका कार्यक्रम नै छैन् । यसबाट हामी चिन्तित छौं भने जनता पनि सचेत हुँदै गएका छन् । प्रदेश–२ लाई एउटा दिशा दिनसक्नु पथ्र्यो, नेपाललाई एउटा पहिचान दिन सक्नुपथ्र्यो तर, त्यसो हुन सकिरहेको छैन् ।

मधेसको मात्रै नभई देशकै मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणमा ढिलाई किन ?

यस बिषयमा छलफल गरौं । हुलाकी राजमार्ग तराई–मधेसको बीच भागबाट पूर्वदेखि पश्चिमसम्म पर्छ । कम्युनिष्ट पार्टीको सरकार आएपछि जहिले पनि यसलाई महत्व दिएर बजेट छुट्याएको छ ।

प्रचण्डजी प्रधानमन्त्री भएको बेला होस् वा अहिलेका सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले, जहिले पनि हुलाकी राजमार्गमा बढी भन्दा बढी बजेट छुटयाउँदै सम्पन्न गर्नुपर्ने उद्देश्य साथ अगाडि बढेको छ । उहाँहरुले यस राजमार्गलाई महत्व दिएको हामीले पाएका छौं । र, अहिले क्रमशः इतिहासमा नभएको काम पूरा गर्ने दिशातर्फ कम्युनिष्ट सरकार लागेको जनताले पनि महसुस गर्दैछन् । तर हुलाकी राजमार्गको जुन चौडाईको सीमाना छ, त्यसमा हामी सन्तुष्ट छैनौं ।

राजमार्ग भनेपछि राष्ट्रिय मापदण्ड अनुसार नै बनाउनु पर्छ । तर, हुलाकी राजमार्ग कतै १० मिटर त कतै १२ मिटर चौडाईको बन्दैछ, त्यसैले राष्ट्रिय राजमार्ग बन्न सक्दैन । सडकको बीच भागबाट कम्तिमा २५–२५ मिटरको दायाँ–बायाँ हामीले बनाउन सक्दैनौं भने राष्ट्रिय राजमार्ग हुन सक्दैन् । कम्तिमा चारलेनको सडक निर्माण गर्न सकिएन भने जनताले लाभ लिन सक्दैनन् । त्यतातर्फ हामीले छलफल चलाईरहेका छौं, सरकार पनि गम्भिर छ । भौतिक पूर्वाधारको बिकास गर्न हामी सचेत छौं ।

तपाईहरुकै सरकार छ, हुलाकी राजमार्ग फराकिलो बनाउन कसले रोकेको छ त ?

यसमा सरकार पनि छ, प्रदेश सरकार पनि छ, स्थानीय तह पनि छ र मुख्यतल् जनता नै हो । हुलाकी राजमार्गलाई अतिक्रमण गर्ने त्यहीका उपभोक्ताहरु हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन् । हुलाकी राजमार्ग तराई–मधेसका जिल्ला सदरमुकाम भएर गईरहेको छ । तर, जहाँ–जहाँ सदरमुकाम छ त्यहाँ अतिक्रमण भएको छ ।

जनकपुर होस्, कलैया होस् वा राजबिराज होस्, हुलाकी राजमार्ग नै अतिक्रमण गरी ठूला–ठूला घरहरु बनेका छन् । स्थानीय तहका सरकार र जनताले सहयोग गरेनन् भने एउटा ठेकेदार र डिंडेका भरमा हामीले यति ठूलो योजना सम्पन्न गर्न सक्दैनौं । यसमा सरकारको आफ्नो प्लान र सोच हुनुपर्‍यो, त्यसमा प्रदेश र स्थानीय सरकारका साथै स्थानीय उपभोक्ताको पनि सहयोग हुनुपर्‍यो ।

यसको मतलब सरकार लागेको छैन भन्ने होइन् । सरकार लागेकै छ तर, मुख्यतः उपभोक्ताले नै सहयोग गर्नुपर्‍यो । १०–१२ मिटर चौडाईको सडक बनाएर आवश्यकता पूरा हुन सक्दैन, धान्न पनि सकिंदैन्, राष्ट्रिय मापदण्ड अनुसार नै बनाउनु पर्छ । अर्को कुरा सदरमुकामपिच्छे बाँङ्गोटिङ्गो घुमेको छ, त्यसलाई छोटो र सिधा बनाउनु पर्छ ।

चुरियाबाट कतै २७ किलोमिटर, कतै ४५ किलोमिटर, ४२ किलोमिटर त कतै ४५ किलोमिटरको दूरीमा पनि छ । यसकारण यो राजमार्गको दूरी पनि बढेको छ । यसलाई सिधा बनाउँदै दूरी घटाउनु पर्छ । त्यसकारण यसलाई परिमार्जन गर्दै हाइवे क्रस गर्ने ठाउँमा ब्रिज बनाउने, सदरमुकाम भएर जाने ठाउँमा बाइपासको आवश्यकता छ । यस बिषयमा सचेत भई सबैले सहयोग गर्न आवश्य छ ।

मधेसमा पर्यटकीय बिकासका लागि के हुँदैछ ?

पर्यटकीय बिकासको सम्भावनालाई पूरा गर्न संघीय सरकार लागेको छ । यसमा प्रदेश सरकारका साथै स्थानीय सरकारको पनि उतिकै सक्रियता एवं सहयोगको आवश्यकता छ । हिन्दुका लागि मात्र नभई बौद्ध धर्मावलम्बीका लागि समेत तराई मधेस नै हो । लुम्बिनी, जनकपुरधाम, गढीमाई, सिम्रौनगढ, सहलेसलगायतका महत्वपूर्ण पर्यटकीय एवं धार्मिक क्षेत्रको बिकास गर्दै पर्यटक भित्र्याउन सकिन्छ ।

इतिहास पढनु पर्‍यो भने तराई मधेस नै हो, कलचर जान्नु पर्‍यो भने तराई मधेस नै हो । यी सबै आधारमा तराई मधेसलाई समृद्ध बनाउन हामीले पर्यटकीय, धार्मिक क्षेत्रका बिकासमा ध्यान दिएर अगाडि बढ्यो भने मधेस पर्यटकीय हब बन्न सक्छ । अहिले रामायण सर्किटको कुरो आईरहेको छ । लुम्बिनीलाई चीनसँग जो्डने कुरा भईरहेको छ । हामीले यी काम सम्पन्न गर्दै अगाडि बढ्ने हो भने यहाँ आम्दानीका स्रोतहरु पनि बढाउँदै आर्थिक समृद्धि हासिल गर्न सक्छौं । नयाँ मोडलमा पुनर्संरचना गर्दै अगाडि बढनु पर्छ ।

तराई मधेसका वन जङ्गल अतिक्रमण गर्ने क्रम बढदै गएको छ, चुरेको बिनास पनि तीब्ररुपमा भईरहेकाले मधेस मरुभूमि बन्दै गईरहेको छ । यसलाई रोक्न के हुँदैछ ?

चुरेको बिनास रोक्न र मधेसलाई मरुभूमि हुनबाट रोक्नकै लागि सरकारले राष्ट्रपति चुरे संरक्षण संस्था दर्ता गरेर अर्बौको लगानी गरिरहेको छ । तर, बिडम्बना भन्नुपर्छ राष्ट्रपतिको नाममा खोलिएको संस्थाका अध्यक्ष तथा पदाधिकारी नै चुरे संरक्षण भन्दा बढी आफ्नो संरक्षण, आफ्नो आसेपासेको संरक्षण, संरक्षण भन्दा आफ्नो भुँडी भर्ने काम भएको छ ।

यसले हामी चिन्तित छौं । यसलाई रोक्न सकेनौं भने मधेसको बिनास हुन्छ, उजाड हुँदै गएको छ, पानीको लेयर घट्दै गएको छ । समयमै सचेत हुन जरुरी छ । वन बिनास रोक्न हामीले गम्भिर हुन आवश्यक छ । हिजो हामीले गठन गरेको सामुदायिक वन कतिको उचित छ या छैन समीक्षाको बिषय बनेको छ ।

नेकपा एकताको बाँकी काम कहिलेसम्ममा टुङ्गो लाग्छ ?

बिशाल दुई पार्टीबीचमा एकता भएपछि सबै कुरा टुङ्गो लगाउन अलिकति समय त लाग्छ नै । यद्दपी ढिलाई भएको हामी पनि महसुस गरिरहेका छौं । यसैले छिट्टै नै सबै संगठनको टुङ्गो लाग्दैछ । कांग्रेस पार्टी महाधिबेशन गरेको लामो समयसम्म आफ्नो संगठन निर्माण गर्न सकेको छैन् हामीले त एकता गरेपछि अलि समय लाग्नु स्वभाविक नै हो ।

तर, मैले यो भनेर सुख पाउने अवस्था छैन् । ढिलाई पक्कै भएको हो, शीर्ष नेताहरुले छिट्टै टुङ्गो लगाउने हाम्रो बिश्वास छ । एकतामा भईरहेको ढिलाइले नेता–कार्यकर्तामा चिन्ता, चासो बढेको छ । तर, जसरी सकिएन, सकिंदैन भन्ने प्रचार गरिएको छ त्यो राम्रो कोणबाट भएको छैन् । जसले प्रचार गर्दैछ ती मिडियाले हिजो पनि दुई पार्टीबीचमा एकता नै हुन सक्दैन भन्ने पनि प्रचार गरे ।

कम्युनिष्ट पार्टी आफ्नो संगठनमै बिश्वास गर्छ र सोही संगठनबाट अगाडि बढछ तर, संगठन नै अलपत्र परेपछि सरकारका कतिपय राम्रा कामको पनि प्रचार हुन सकिरहेको छैन् ? कार्यकर्ता बेरोजगार भएका छन् नि ?

तपाईले भनेको भनाईसँग सहमत छु । संगठन निर्माण हुनुपर्छ, कार्यबिभाजन हुनुपर्छ, संगठन परिचालित हुनुपर्छ, संगठन सुदृढ हुनुपर्छ तर, केही पनि भएकै छैन भन्ने कुरा गलत हो । केन्द्रका कतिपय काम पूरा भएको छ भने स्थानीय तहमा पनि संगठन निर्माण अगाडि बढेको छ । यद्दपी केही कुरा टुङ्गो लगाउन अझै बाँकी नै छ । जुन अपेक्षा हामीले गरेका छौं, त्यो हुन सकेको छैन् । कम्युनिष्ट पार्टीको मुख्य कुरा भनेको संगठन, बिचार, सिद्धान्त, कार्यदिशा नै हो । संगठन नै हाम्रो मुख्य शक्ति भएकाले हामी गम्भिर छौं ।

प्रदेश–२ मा स्थानीय तहदेखि सबै कमिटीको टुङ्गो लगाउने काम कहाँसम्म पुगेको छ ?

हामीले जिल्ला–जिल्लाबाट प्रतिवेदन लिईरहेका छौं । कतिपय स्थानीय तहमा टुङ्गो लगाई सक्यौ । बाँकी ठाउँमा पनि लगाउने क्रममै छौं । छिट्टै नै पूर्णता पाउँछ । हामी त्यही अभियानमा छौं ।

याे पनि पढ्नुहाेस्
संबिधान बिरोधी काम राजाले त गर्न सकेनन्, लोकसेवाले सक्ने कुरै छैन : प्रभु साह

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७