मोरङमा पक्राउ परेका व्यक्ति आफ्नो कार्यकर्ता नभएको विप्लव समूहको दावी

‘अपराधीलाई पनि जबरजस्ती पार्टीको कार्यकर्ता सावित गराउनु प्रहरीकाे राजनीतिक प्रतिशोध’


१२ असार २०७६, बिहीबार
biplab

मोरङ, १२ असार । प्रहरीले मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ‘सुटर’ भन्दै पक्राउ गरी सार्वजनिक गरेका व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नभएको विप्लव समूहले दावी गरेको छ ।

मोरङ प्रहरीले मंगलबार ५ थान बन्दुकसहित सार्वजनिक गरेका व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता नभएको बताउँदै आफ्नो पार्टीलाई बदनाम बनाउने खेल भएको आरोप लगाएको छ ।
मोरङ कानेपोखरी–६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी–२ सालघारीका केन्द्रलाल धिमाल आफ्नो कार्यकर्ता नभएको विप्लव समूहले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित सार्वजनिक गरेको थियो । विप्लव समूहका मोरङ सेक्रेटरी आभाषले विज्ञप्ति जारी गर्दै पक्राउ गरेका कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरूसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको जनाएका छन् ।

धिमालद्वयको विगतसँग जोडेर प्रहरीले पार्टीको छवि धमिल्याउने प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ । नेता र कार्यकर्तालाई जसरी पनि अपराधी करार गराउने नियत र विभिन्न प्रकारका अपराधीलाई पनि जबरजस्ती पार्टीको कार्यकर्ता भएको सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध भएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

प्रहरीले भने पक्राउ परेका राई विप्लव समूहको जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो । धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट र उर्लाबारीको सुनचाँदी पसल लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७