आन्तरिक राजनीतिमा सक्रियता बढाउँदै देउवा

पौडेल र सिटौलाको आरोप


१४ असार २०७६, शनिबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाउँदै छन् । पार्टीभित्रका इतरपक्षका नेताहरुको प्रहारसंगै देउवा सक्रिय हुदै जाने रणनीतिमा रहेका छन् ।

आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका देउवामाथि इतरपक्षले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाउँदैछन् । देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे बुझिरहेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले वितेको बुधबार ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिसँग जागरण अभियान, अबको रणनीति र वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल गरेका छन् ।

संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले जनजागरण अभियानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेलले जनजागरण घोषणालगत्तै एकलौटी ढंगले घोषणा गरिएको भन्दै आपत्ति जनाएका थिए भने सिटौलाले संगठनबिना नै पार्टीको जागरण चलाइएको भन्दै जनजागरणले दिनुपर्ने प्रतिफल दिन नसकेको बताउँदै आएका छन् ।

यसरी इतरपक्षको प्रहारपछि देउवाले आफूनिकटका नेतासंग गोप्य छलफल गर्दै थप शसक्त रुपमा अगाडी बढाउँने रणनीति बनाईरहेका छन् ।

भ्रातृ संगठनलाई पुर्णता दिने मुडमा देउवा

सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठक २२ असारका लागि डाकेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भएको विवादपछि करिब तीन महिना यता कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।Sher bahadur deupa

सभापति देउवाले आगामी बैठकबाट पार्टीका रिक्त रहेका भ्रातृ संगठनलाई पूर्णता दिनसमेत चाहेका छन् ।  आगामी चैतबाट सकिने केन्द्रीय कार्यसमितिको म्यादका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आगामी केन्द्रीय समिति पार्टीको महाधिवेशनको कन्सेप्टमा प्रवेश गर्ने बताए ।

‘कहिले अर्ली महाधिवेशनको कुरा उठ्यो, कहिले विशेष महाधिवेशनका कुरा उठे, अब भने महाधिवेशनको कन्सेप्ट लगभग सुरु भयो,’ विश्वकर्माले भने ।

उनले आगामी केन्द्रीय समितिबाट महाधिवेशनको कन्सेप्टमा अघि बढ्दासमेत पुराना तह मर्ज भएर बनेका सबै संगठनको अधिवेशन सक्न एक वर्षभन्दा बढी समय लाग्ने बताए । त्यसपछि मात्रै केन्द्रीय महाधिवेशनतर्फ पार्टी अघि बढ्ने उनले बताए ।

इतर पक्षका नेता प्रदीप पौडेल भने विधानमा भएको व्यवस्थाबाट नै पार्टीलाई महाधिवेशनमा लैजानुपर्ने बताउँछन् ।

‘विधानमा जे व्यवस्था छ त्यहीअनुसार महाधिवेशन गर्नुपर्छ, अब समय छैन भनेर म्याद थपेर समय लम्ब्याउने कुनै बहानालाई कार्यकर्ताले स्वीकार्न सक्दैनन, अब केन्द्रले मात्रै सहमति गरेर हुँदैन,’ नेता पौडेलले भने ।

उनले विधानमा भएको संक्रमणकालीन व्यवस्थाअनुसार समेत पार्टीलाई महाधिवेशनमा लैजान सकिने जनाए । नेता पौडेलले पार्टीका सबै गतिविधि अब महाधिवेशन केन्द्रित हुन थालिसकेको समेत बताए ।

सभापति देउवा भने रिक्त सबै संरचनाको भरपाई गरेर महाधिवेशनमा जाने पक्षमा देखिएको उनीनिकट स्रोत बताउँछ । त्यसका लागि आफू पक्षीय नेताहरूलाई उनले अघि सारेका छन् । तर, इतरपक्ष कुनै हालतमा म्याद थपको पक्षमा नजाने अडानमा देखिएको छ । संस्थापन पक्षले पेलेर अघि बढे रोक्ने पक्षमा इतरपक्ष रहेको देखिन्छ ।

सिटौला समूहले गत सोमबार राजधानीमा गरेको कार्यक्रममा सहभागी सो समूहका नेताहरूले केन्द्रीय समितिमा हुने अबको रणनीतिको संकेत समेत गरिसकेका छन् ।

कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठकसमेत विगतजस्तै लम्बिने देखिएको छ । बैठकका लागि नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत कांग्रेसको नियमावली, २०७६ माथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र चौथो समसामयिक राजनीतिक विषय गरी चारवटा एजेन्डा तय गरिएको छ ।

कांग्रेसले नियमावली संशोधन मस्यौदाका लागि तीन महिनाअघि केन्द्रीय समितिको बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।

नियमावली संशोधन मस्यौदा पारित गरे पार्टी संगठनलाई पूर्णता दिन सहज हुने भन्दै संस्थापन पक्ष अघि बढिरहेको छ । गत पुसमा विधान संशोधन भए पनि नियमावली संशोधन हुन बाँकी रहेका कारण प्रदेश समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति तथा पालिका समिति गठन गर्ने काम प्रभावित बन्दै आएको छ ।

यसैगरी, विधानका केही प्रावधान संशोधन नगर्दा कतिपय भ्रातृसंगठनको महाधिवेशनसमेत रोकिएको अवस्था छ ।

समयमै होला १४औं कांग्रेसको महाधिवेशन ?

केन्द्रीय समितिको आगामी बैठकमा संस्थापन इतरपक्षले १४औं महाधिवेशनको मिति तोक्न तथा स्थानीय अधिवेशनको प्रक्रिया सुरु गर्न दबाब दिने रणनीति बनाएका छन् । कांग्रेसमा विगतदेखि नै महाधिवेशन भएर म्याद सकिएपछि एक वर्ष म्याद थप्ने परम्परा रहँदै आएको छ ।

संस्थापन पक्ष त्यही परम्परालाई निरन्तरता दिने रणनीतिमा छ भने इतरपक्ष तत्कालै महाधिवेशनमा होमिनुपर्ने बताउँदै आएको छ । १३ औं महाधिबेशनबाट सभापति सहित शक्तिशाली देखिएका देउवा पुन सभापति बन्ने र आफू अनुकुल समयमा महाधिबेशन गराउँने तयारीमा छन् ।

पार्टी विधानको दफा ३५ को २ (घ) अनुसार ‘कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा १ वर्षअघि स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन गरिनेछ’ भन्ने उल्लेख छ ।

पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । यसैगरी संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ बर्षभित्रमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ । विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ । यही व्यवस्था र सुबिधालाई आधार मानेर देउवाले आफ्नो कार्यकाल डेढ बर्ष बढाउँन खोजेका छन् । जसको पार्टी भित्र तिब्र आलोचना हुदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७