१४ मेगावाटको कुलेखानी तेस्रोको विद्युत उत्पादन एक महिनापछि


१७ असार २०७६, मंगलवार
Kulekhani 3

हेटौंडा, १७ असार । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।

भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युत गृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको थियो ।

चिनियाँ प्राविधिक टोलीले यही असार महिनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युत गृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिएका छन् । अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उतपादन हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७