छवीराज ओझाविरुद्ध शिल्पाको प्रहरीमा उजुरी, भन्छिन्, ‘कुटेर कानको जाली नै फुटाई दिए’


२५ असार २०७६, बुधबार
chhabi

काठमाडौं, २५ असार । गोप्य रुपमा घरजम गरेका चलचित्र निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलबीचको खटपट प्रहरी समक्ष पुगेको छ ।

चलचित्रबाट चिनारी हुँदै लामो अफयेरपछि २०७३ सालको दशैंछेक गोप्य विवाह गरेका छवीराज र शिल्पाको मनमुटाव अहिले प्रहरीसम्म पुगेको हो । नायिका शिल्पाले अहिले पति ओझाविरुद्ध प्रहरीमा नै उजुरी हालेकी छन् । आपसी विवादको क्रममा हातपात गर्दा शिल्पाको कानको जाली नै फुटेको जनाइएको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुटाई दिएको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी छन् ।

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताएकी छन् ।

ओझाको कुटपिटपछि शान्ति सुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् । यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ ।

चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टीका लगाएर दाइ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् । यस विषयमा प्रतिक्रिया लिन निर्माता ओझालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् । शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७