६ वर्षपछि घनश्याम भुसाललाई किन खोजे केपी ओलीले ?


२६ असार २०७६, बिहीबार
kp oli and ghanshayam bhusal

काठमाडौं, २६ असार :  हालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसाल दुबैको लागि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वमा नवौं राष्ट्रिय महाधिवेशन राजनीतिक जीवनमा महत्वपूर्ण थियो ।

२०७१ असार १९ देखि साउन १ मा भएको नवौं राष्ट्रिय महाधिवेशन दुबै नेताका लागि एक हिसाबले ‘ट्रर्निङ्ग पोइन्ट’ नै थियो । किनभने ओली नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचत भए भने भुसाल उपमहासचिव मात्रै होइन उनको विचार नवौं राष्ट्रिय महाधिवेशनबाट पारित भयो ।


भुसाल र उनको समूहले प्रस्तुत गरेको विचार नवौं राष्ट्रिय महाधिवेशनबाट सर्बसम्मत पारित भयो । जनताको बहुदलीय जनवाद (जबज)लाई ‘तलमाथि’ चलाउन नहुने अडानको बीच भुसालले व्याख्या गरेको नेपाली समाजको चरित्रलाई मानेर कार्यदिशा तय भयो । भुसालले व्याख्या गरे अनुसार नै नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको निचोड निकालियो ।

संगठन र पार्टीका मुल नेता ओली, विचार भुसालको त्यस हिसाबले नवौं राष्ट्रिय महाधिवेशनपछि यी दुई नेताको असाध्यै धेरै भेट र संवाद हुनुपर्ने थियो । पारित विचार अनुसारको संगठन र संगठनमा आबद्धहरुलाई विचार बुझाउन पनि दुबैको समन्वय र संवाद जरुरी थियो । तर, त्यसो भएन । ओली–भुसालबीच २०७० माघ २२ मा संसदीय दलको निर्बाचन हुनुभन्दा केही दिन अघि संवाद भएको थियो । तर, तत्कालीन एमालेको नवौं महाधिवेशनको संघारमा थोरै संवाद भए पनि त्यसपछि भएन ।


संवाद मात्रै रोकिएन की दुबै नेताबीच कटुतापूर्वक सम्बन्ध रह्यो । भुसालले अध्यक्ष ओलीको निर्णय र विचारमाथि आलोचनात्मक विचार राखीरहे भने अध्यक्ष ओलीले त्यसलाई निरन्तर वेवास्ता समेत गरे । नेता भुसालले बैठकमा प्रस्तुत गरेका पुरक दस्ताबेजलाई सानो लेख भनेर अध्यक्ष ओलीले उडाइदिनेसम्म गरे । बैठकमा भुसाल बोल्न साथ वेवास्ता गर्ने अथवा उठेर हिड्नेसम्म भयो ।


महाधिवेशनपछि भुसालले पार्टीले स्कुल विभागको जिम्मेवारी पाउने अनुमान सबैले गरेका थिए । तर, ओली आफैले त्यो जिम्मेवारी राखे । भुसाललाई जिम्मेवारीविहिन बनाइए । पार्टी उपमहासचिवमा निर्वाचित भएपनि कुनै पनि जिम्मेवारी विना नै बस्नुपर्ने पीडा भोगे भुसालले । तर, विभिन्न फोरमहरु मार्फत भुसालले निरन्तर आफ्ना विचार प्रभाव गरिरहे । ओलीले यो वा त्यो रुपमा भुसालप्रति कटाक्ष गर्न छोडेनन् ।


यस्तो कटुतापूर्ण अवस्थामा गत शनिबार (२१ असार २०७६) ओली र भुसालबीच लामो छलफल भएको छ । त्यो छलफल भुसालको चाहना अथवा प्रस्तावमा भएको थिएन । ओलीले बोलाएका थिए । ओलीले भुसाललाई ‘आउनुहोस् कुरा गरौं’ भन्दा भुसाललाई छक्क परेका थिए । भुसालले आफ्ना नजिकका साथीभाईलाई ओलीले बोलाएको सुनाउँदा ‘झुक्किएर बोलाए होला दाई’ भनेर जिस्काएका थिए ।


स्रोतका अनुसार ओली र भुसालबीच करिब अढाई घन्टा छलफल भएको थियो । ओली–भुसालबीच राजनीतिक बिषयमा भन्दा पनि बढी सन्चो बिसञ्चोको कुराकानी भएको थियो । अध्यक्ष ओलीले सम्बन्धका उतारचढावलाई पनि सम्झना गरेका थिए ।

भुसालले व्यक्तिगत मामिलाभन्दा पनि राजनीतिक विषयमै छलफल गरौं भनेका थिए । प्रधानमन्त्री ओलीले संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै समय मिलेपछि पुनः खबर गर्ने भुसाललाई बताएका थिए । भुसालले भेट्न आउने जवाफ फर्काएका थिए ।


किन भेटे भुसाललाई ?
प्रधानमन्त्री ओलीलाई ओलचोकप्रति असहिष्णु नेताको रुपमा चित्रित गरिन्छ । तर, भुसालले भने पार्टीभित्रका बैठकहरुमा ओलीसँग आँखा जुधाएर सैद्धान्तिक तर्क गर्ने गरेका छन् । पार्टी संचालनसम्बन्धि ओलीको कार्यशैलीमा निरन्तर फरक मत राख्दै आएका भुसालले पछिल्ला दिनमा नेतृत्वले सरकार र पार्टी सञ्चालनमा ध्यान नदिए गम्भीर संकट आउन सक्ने चेतावनी दिँदै आएका थिए ।

पार्टी एकता लामो समयसम्म नटुंगिएको, राजनीतिक दस्तावेजसमेत प्रकाशनमा आइनसकेको मात्र होइन, पार्टी सञ्चालनमा विधि, प्रक्रिया र मापदण्डको विषय बारम्बार जोडदार उठ्दै गएको, पार्टी एकता कमजोर हुँदा सरकारले कतिपय राम्रा काम गर्न खोज्दाखोज्दै पनि क्रमशः ब्याक हुँदै गएको परिवेशमा ओली–भुसालबीचको भेटलाई अर्थपूर्ण रूपमै हेरिएको छ ।

कतिपयले यो भेटलाई अध्यक्ष ओली विस्तारै ‘नरम’ हुदै गएको रुपमा पनि अर्थ लगाएका छन् । अध्यक्ष ओलीले आलोचकहरुको पनि विचार सुन्ने र भावना समेट्ने अवस्था निर्माण हुनु खुसीको खबर भएको बिश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७