काबेली कोरिडोर सञ्चालनमा, कुलमानलाई अर्को सफलता


२१ श्रावण २०७६, मंगलवार
kabeli coridor

पाँचथर, २१ साउन । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालनमा (चार्ज)आएको हो ।

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यस अघि नै संचालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२–३३–११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा थिए ।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो , राइट अफ वेको समस्या सुल्झाउन व्यत्तिगत रुपमा प्रभावितको घरघरमा समेत गयौं’ उनले भने ।

‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ ।’

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन ुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे । ‘अब प्रवद्र्धकहरुले पनि आयोजनाको निर्माण छिट्टौ सम्पन्न गरी विद्युत जोड्नु पर्छ’, घिसिङले भने ।

राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नुलगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।

आर्थिक वर्ष २०६३–६४मा शुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एण्ड एष्टर जेभी २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११) मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १४ पुन २०६८ (२९ डिसेम्बर २०११) मा कार्यान्वयनमा आएको थियो ।

३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ ।

यस खण्डस्थित अमरपुर सबस्टेसनमा विद्युत जोडिने २५ मेगावाटको काबेली बी १ को प्रर्वद्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो ।

‘आयोजनाहरुबाट उत्पादित विद्युत् अरपुर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिड प्रणालीमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौं’, आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले भने । ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत पनि यही सबस्टेसनमा जोडिने छ ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७