वाइसिएलले ओलीलाई भने, ‘प्रचण्डको नेतृत्वमा रगत बगायौं, अब तपार्इको नेतृत्वमा पसिना बगाउन तयार छौं’


३ पुष २०७४, सोमबार
oli 2

भक्तपुर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ । आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा सहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।

oli 2

वाइसिएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भने, ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन तयार छौँ, छिटो पार्टी एकीकरण गर्नुहोस् ।’ पार्टी एकीकरणपछि देशको विकास र समृद्धिका लागि आफूहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिबद्धता पदाधिकारीले व्यक्त गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले भने, ‘पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन म आग्रह गर्छु ।’

आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरेको भन्दै ओलीले आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । युवालाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन पनि ओलीले सुझाव दिनुभएको छ ।

चौध वर्ष जेल बसेर निस्कँदा पनि कुनै पूर्जीमा हस्ताक्षर नगरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने,’जेलबाट छुट्दा एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठीक परेको त राजाको मन्त्री हुन तयार छु भनेर पो लेखेको रहेछ, त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे, फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ?’

उनले थपे , “संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधानअन्तर्गत मन्त्री हुने कुरा हुन्छ रु, २०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ, शक्तिसँग नझुक्ने, सत्यको पक्षमा लड्ने र अडानबाट कहिले विचलित नहुने स्वभाव भएकाले निर्णय लिने बेलामा नै सोचविचार गर्ने मेरो बानी छ ।” द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको सुनाउँदै ओलीले भने, “कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई त कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७