संसदमा रवि लामिछानेदेखि पार्टी प्यालेसमा तीज मनाउन पाउनु पर्नेसम्मका चर्चा, कसले के भने ?


१ भाद्र २०७६, आईतवार
samsad 1

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे । भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उनले माग गरे ।

सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउँँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताए । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताइन् । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराए । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनु पर्ने विचार राखे ।

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलगायतमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गरे । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उनले माग गरे ।

सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउँँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राखिन् । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राखिन् ।

सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गर्नुभयो । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताइन् । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउँँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राखिन् ।

सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मी समेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद लक्ष्मणलाल कर्णले तराई क्षेत्रमा सर्पदंशले बिरामीको तत्कालै निधन हुने गरेकामा उपचारका लागि एमबिबिएस चिकित्सकको व्यवस्था हुन नसक्दा धेरै जनताले अनाहकमा जीवन गुमाउनु परिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७