माधव नेपालको फरक मत नेकपाको सम्पत्ति : पौडेल


६ भाद्र २०७६, शुक्रबार
1503049323 devendra poudel

काठमाडौं, ६ भदौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र राखिएको फरक मत थेग्नै नसक्ने प्रकृतिको नभएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले पार्टीभित्रको फरक मत, बहस र विवादलाई उचाल्न नहुने बताए । उनले भने, ‘माधव नेपालले राख्नुभएको फरक मत नेकपाकै सम्पत्ति हो ।’

फरक मत र सम्वादले नै पार्टीमा विधिको विकास हुने नेता पौडेलले बताए । ‘पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होइनन् । आन्तरिक रुपमा हामी हल गर्छौं’, नेता पौडेलले भने ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएकाले रोकिएको पार्टी एकता प्रक्रिया अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गर्ने बैठकबाट हल हुने उनले बताए ।

उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘बाहिर हल्ला भएजस्तो स्थिति छैन, र हामी हुन पनि दिँदैनौं ।’ 

नेता पौडेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा हुनेतर्फ अघि बढिरहेको पनि जनाए । कम्युनिष्ट पार्टी जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधार र प्रतिवेदनअनुसार नै अघि बढ्ने पनि उनको विश्वास छ । उनले भने,‘पार्टीमा सामूहिक निर्णय हुन्छ, व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ ।’

पार्टीभित्र नोट अफ डिसेन्ट राख्न पाउनुपर्ने उनको धारणा छ । उनले भने,‘माधव कुमार नेपालले जुन रुपमा नोट अफ डिसेन्ट राख्नुभएको छ, त्यो राख्न पाउनुपर्छ ।’

 पूर्वमन्त्री आनन्द पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैबीच लक्ष्यमा भीन्नता नभएको पनि सुनाए ।

उनले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस तथा छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिलेपनि पार्टीभित्रको बहस र छलफलले यति धेरै चर्चा पाउनुपर्ने विषय नै नभएको जिकिर गरे । उनले भने,‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, यसमा अतिशोयुक्ति प्रचार भयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला । तर, बैठकमा पत्रकारहरु त हुनुहुन्थेन ।’

पार्टी सही दिशमा अघि बढिरहेकोले पार्टीभित्र हुने छलफल र बहसले एकतामा फरक नपर्ने उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रा हुनुहुन्छ, माधव नेपाल १५ वर्ष पार्टीको नेतृत्व गरेको नेता हुनुहुन्छ, उहाँले पार्टीभित्र राखेको नोट अफ डिसेन्ट हाम्रो सम्पत्ति हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७