‘पूर्वराजा र पारस शाहको ‘अवाञ्छित’ गतिविधि नियन्त्रण गरियोस्’


८ भाद्र २०७६, आईतवार
balaram

काठमाडौं, ८ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद बलरामप्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहका अवाञ्छित गतिविधि सरकारले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेका ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै यसमा सरकार गम्भिर बन्नुपर्ने आग्रह गरे । ‘दिनदहाडै विमानस्थलमा पारसको ताण्डव नृत्यबारे सरकारको ध्यानाकर्षण भएको छ कि छैन?’ उनले प्रश्न गरे, ‘के भएको छ, सदनलाई जानकारी होस् ।’

उनले पूर्वराज परिवारलाई संविधान र कानुनको दायरामा राख्न पनि माग गरेका छन् । ‘बगेको खोला फर्किदैन भने जस्तै नेपालमा राणा शासन फर्किएन, राजतन्त्र पनि फर्किदैन। त्यो प्रतिगामी र पाश्चयगामी शासन हो । त्यो कुनै हालतमा पनि फर्किन सक्दैन । यो कुरामा सरकार दृढ भएर अघि बढ्नु पर्छ’, उनले थपे ।

सांसद बाँस्कोटाले रवी लामिछानेको नाममा भइरहेको भीडतन्त्र नियन्त्रण गर्न पनि माग गरेका छन् । दिनदडाहै संविधान विरोधी गतिविधि गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् । उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई पूर्व प्रधानमन्त्रीहरु कुटनीतिक मर्यादालाई नाघेर लामबद्ध भएर भेट्न गएकोमा पनि आपत्ति जनाएका छन् ।

उनले कश्मिर प्रकरणमा सरकारको आधिकारिक धारणा समेत माग गरेका छन् । उनले देशभित्र भइरहेका अवाञ्छित गतिविधिहरुको पनि सरकारसँग माग गरे । यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले पूर्व राजालाई खेल्ने मौका दलहरुले नै दिएको टिप्पणी गरेका छन् ।

दलहरुको द्वन्द्वले यो अवस्था सिर्जना भएको उनले बताएका छन् । मुलुकलाई समृद्धिमा लैजान सदनमा भएका दलको एउटै लक्ष्य हुनुपर्ने उनले बताए । मिलेर गए मात्रै परिवर्तन संस्थागत हुने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७