जनता ओली सरकारको विकल्प खोज्दैछन् : राणा


२१ भाद्र २०७६, शनिबार
rana vNzTjgZFOl

सिन्धुली, २१ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले जनता ओली सरकारको विकल्पको खोजीमा रहेको बताएका छन् ।

‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएको तर सरकारले सिन्को पनि भाँच्न नसकेको उनले आरोप समेत लगाए । राणाले भने, ‘विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासनशैली बाहेक केही दिन सकेन ।’

त्यसकारण जनतामा निराशा छाएको छ र आक्रोश बढेर गएको उनले बताएका छन् । जनता अब पर्खेर बस्नेवाला छैनन्’, सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने ।
गुठी विधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दावी गरे ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे । नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ भन्दै लोहनीले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।

जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प

नभएको अध्यक्ष लोहनीले दावी गरे । लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको बताए । सो क्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा (संयुक्त) मा प्रवेश गर्ने ४३ जना नवप्रवेशीलाई अध्यक्षद्वयले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७