विद्यावारिधि प्राप्तको अनुभव : ‘स्वदेशमै केही गर्न सकिन्छ’

काठमाडौं, २२ भदौं । ‘राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।’

सन् २०१८ मा काठमाडौं विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि (पिएचडी) गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा. मीनाक्षी दाहाल स्वदेशमै केही गर्न सकिन्छ भन्नेमा ढुक्क देखिन्छिन् ।

उच्च शिक्षा हासिल गर्न वा गरेपछि काम वा अवसरका लागि विदेशिने क्रम नरोकिएका बेला आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट सुशोभित भएपछि डा. दाहालले विद्यावारिधि गरेका वा विश्वविद्यालय तहमा उत्कृष्ट भएकाहरुले सरकारले आफ्नो लागि केही दिएन वा वातावरण दिएन भन्नु उसको पढाइ सुहाउँदो नहुने प्रतिक्रिया दिइन् ।

ललितपुर निवासी डा. दाहालले प्राप्त ज्ञान र सीपमा आधारमा काम सिर्जना गरी मुलुकलाई योगदान दिनु त्यस्ता मेधावी विद्यार्थीको दायित्व भएको बताइन् । सन् २०१८ मा भारतको डा. केएन मोदी विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेका लमजुङका डा. दशरथ न्यौपानेको पनि समान मत पाइयो ।

‘मैले पढेको ज्ञान र सीपको स्वदेशमै प्रयोग हुने प्रशस्त सम्भावना छ ।’ नवोदित कलेजमा अध्यापनका साथै ‘नेपाल फिलोसोफिकल रिसर्च सेन्टर’ मा अनुसन्धानरत डा. न्यौपानले अन्तर्राष्ट्रिय अनुसन्धानमूलक जर्नलमा काम गर्छन् ।

उनले भने, ‘मैले हासिल गरेको सीप र क्षमताका आधारमा काम गर्न सकिन्छ । मैले राष्ट्रलाई केही दिएँ भने राष्ट्रले पनि मलाई केही दिन्छ । मलाई नै केही भयो भएन भन्दा पनि आगामी पुस्तालाई केही दिन सकिन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भावनाबाट हामी अभिप्रेरित हुनुपर्छ ।’

सन् २०१८ मा काठमाडौं विश्वविद्यालयबाट आर्थिक साक्षरता विषयमा विद्यावारिधि हासिल गरेका मकवानपुरका डा. रमेशप्रसाद चौलागाईंले मुलुकले समृद्धिको यात्रा तय गरेका बेला आफूले पढेको विषयको प्रचुर सम्भावना रहेकाले प्राप्त ज्ञानको स्वदेशमै उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाल नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा कार्यरत चौलागाईंले आर्थिक साक्षरताबारे बोध भएपछि मात्रै मानिसको व्यवहार र आचरणमा परिवर्तन आउने भएकाले यस बुझाइलाई आम मानिसमा लैजान भूमिका खेल्ने बताए ।

विसं २०७४ मा त्रिभुवन विश्वविद्यालयबाट बायो–टेक्नोलेजी विषयमा पिएचडी गरेका रौतहटका डा. वीरेन्द्रप्रसाद गुप्ता विश्व स्वास्थ्य सङ्गठनमा परामर्शदाताका रुपमा कार्यरत छन् । दक्षिण कोरियाको एक कम्पनीसँग साझेदारी गरी नेपालका चार स्थानमा विभिन्न खोपहरुको परीक्षण र उत्पादनको अनुसन्धानमा संलग्न डा. गुप्ता आफूलाई स्वदेशमै काम गर्ने वातावरण रहेकामा आश्वस्त छन् ।

त्रिभुवन विश्वविद्यालयबाटै रसायन शास्त्रमा पिएचडी गरेका मोरङका डा. तुलसीप्रसाद निरौला मोरङ बहुमुखी क्याम्पसमा अध्यापनका साथै विज्ञान विषयमा नयाँ अनुसन्धानकर्ता र विद्यार्थीलाई मार्गदर्शन दिँदै आएका छन् । डा. निरौलाले भने अनुसन्धानका लागि आवश्यक पूर्वाधार र उचित वातावरण नभएको गुनासो गरे ।

उनले विदेशको तुलनामा नेपालमा प्राध्यापन पेशामा सुविधा कम रहेको जनाए । ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्तलाई दिने गरिन्छ । यसवर्ष यो श्रेणीबाट २३१ जना सुशोभित भएका छन् ।

विसं २०७२ मा त्रिविबाटै कानूनको स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट भई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक पाएका अधिवक्ता अमृत खरेलले नेपाल सरकारले आफूहरुलाई सम्मान गरे पनि विश्वविद्यालयले उत्कृष्टलाई कुनै मान्यता वा सम्मान दिने नगरेको गुनासो सुनाए ।

उत्कृष्टताको प्रमाणपत्र लिन समेत विश्वविद्यालयमा अनेक झमेला व्यहोर्नु परेको अनुभव खरेलको छ । ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १०१ जनाले पाएका थिए ।

स्नातकोत्तर तहमा विषयगत उत्कृत हुनेहरुले पाउने ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन् ।

चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो । नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण ः सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ ।

प्रतिक्रिया दिनुहोस्