नेपालको सडकमा पहिलोपल्ट चल्यो ‘बिजुली बस’

उपप्रधानमन्त्री पोखरेलले भने, ‘वातावरणीय र आर्थिक दुवै हिसाबले बस उपयुक्त छ’


२५ भाद्र २०७६, बुधबार
sundar yatayat

काठमाडौं, २५ भदौं । नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गरेका हुन् ।

एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।

मन्त्री पोखरेलले बसमा बसेर प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहीदगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रा समेत गरेका छन् । यात्रापछि उनले बस आरामदायी रहेको र नेपालका लागि यो उपयुक्त रहेको बताए । उनले भने, ‘वातावरणीय र आर्थिक दुवै हिसाबले बस उपयुक्त छ ।’

मन्त्री पोखरेलले राम्रो कामको शुरुवात गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए । सुन्दर यातायातले नाम जस्तै सुन्दर काम गरेको उनको भनाइ छ । राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाट पछि हट्न नहुने उनको भनाइ थियो । उनले भने, ‘आगामी दिनमा पनि चुनौतीहरु आउन सक्छन् तर तपाईं हिम्मत नहारी अघि बढ्नु पर्छ ।’

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महिनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताए । विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको र उनकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उनले बताए ।

बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ । विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रूपमा रहेको उनले औंल्याए । उनले भने, ‘हामीले नीति चाँडो बनाउनुपर्‍यो भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौं ।’

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताए । नेपालमा विद्युतको उत्पादन बढिरहेकाले सरकारले आन्तरिकरूपमा नै विद्युतको खपत बढाउँदै जाने लक्ष्य लिएको छ ।

अरू उद्यमीले पनि विद्युतीय सवारीसाधन भित्र्याएर सरकारको उक्त योजनामा सहयोग पु¥याउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘विद्युतको खपत हामीले यातायात, खाना पकाउने इन्धन लगायतका रूपमा प्रयोग बढाउँदै जान सक्छौँ ।’

सामाजिक अभियन्ता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताएका छन् ।
सेवा विस्तार गरिंदै
विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ । कम्पनीले अहिले दुई वटा बस शुरुवात गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यही वर्षभित्रमा ५० वटा बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ । ८१ जना शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं १ र ५ मा पनि बस विस्तार गर्दै जाने योजना बनाएको छ ।
बस किन्ने तयारी गर्दै साझा
तीनै तहको सहकार्यमा साझा यातायातले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महिना पहिले नै नेपाल सरकारले रु तीन अर्बको र प्रदेश ३ ले रु ३० करोडको साझाको शेयर खरीद गरेका थिए ।

त्यस्तै काठमाडौं महानगरपालिकाले रु १० करोड बराबरको साझाको शेयर खरीद गरेको थियो । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताको किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । आगामी वैशाखसम्ममा थोरै संख्यामा भए पनि बस भित्र्याउने तयारी भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।
इतिहास बन्यो ट्रली बस
काठमाडौं उपत्यकामा एक दशक पहिलेसम्म सञ्चालनमा रहेको ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ । चीन सरकारको सहयोगमा काठमाडौंमा ट्रली बस सञ्चालन भएको थियो । नेपालमा २०३२ साल पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो ।

तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । त्यतिबेला बस काठमाडौंबाट मध्यपुर थिमि हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो । २०५२ सालमा दाताको सहयोगमा १० बस थपिएको भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७