अबको ५० वर्ष कम्युनिष्टको सरकार : प्रचण्ड


२८ भाद्र २०७६, शनिबार
SB Jhapa 10

झापा, २८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।

झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए ।

उनले भने, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौं वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसर समेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’

सोही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए ।

‘हिजोका संविधान कुनै राणाले र कुनै राजाले जारी गरेका थिए’, नेता नेम्वाङले भने, ‘अहिलेको संविधान जनताले बनाएको हुँदा कसैले अपहरण गर्ला र जनताका अधिकार फेरि पनि छिन्ला कि भन्ने अब कुनै गुञ्जायस छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७