चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण : नेपालको उपलब्धीबारे कसले के भने ?

फुर्की हाल्ने अवस्था छैन : डा. बाबुराम भट्टराई


२६ आश्विन २०७६, आईतवार
baburam Bhattrai 1

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेको आज (आइतबार) स्वदेश फर्किएका छन् ।

सिङ्गो मुलुकलाई एकजुट र उत्साहित बनाएको चिनियाँ राष्ट्रपतिको भ्रमणले सम्पूर्ण नेपाली नागरिकमा आशा र अपेक्षा जागेको छ । विश्वका शक्तिराष्ट्रहरुलाई विस्तारै पछि पार्दै आएको छिमेकी देश चीनका राष्ट्र प्रमुखको भ्रमणलाई सरकार, नेता, बुद्धिजीविले मात्र होइन आम सर्वसाधरण नागरिकले समेत निकै चासोका साथ हेरेका छन् ।

सीको भ्रमणका अवसरमा नेपाल र चीनबीच विभिन्न २० समझदारीको हस्ताक्षर भएको छ । यी २० बुँदे हस्ताक्षरमा रेलमार्गदेखि अन्य ठूला आयोजनाहरु समेटिएका छन् । यी समझदारीले आउँदा दिनका कसरी गति लिन्छ र कुन रुपमा कार्यान्वयन हुँदै जान्छ भन्ने कुरा त भविष्यले नै बताउँछ । तर, जे भए पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपालको समग्र विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा आम नेपालीको छ ।

अहिले राष्ट्रपति सी स्वदेश फर्किएसँग उनको भ्रमणबाट नेपालले हात पारेका उपलब्धीहरुका बारेमा समीक्षा र विश्लेषणहरु हुन थालेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले त सीको भ्रमण ऐतिहासिक उपलब्धी भएको प्रतिक्रिया दिएका छन् ।

सीको नेपाल भ्रमणले दुई देशको सम्बन्धले नयाँ उचाइ र गति पायो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रूपमा सफल भएको बताएका छन् ।

आइतबार दिउँसो राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गरेका छन् ।

‘भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार नेपाल आएका थिए । उनी पछिल्लो २३ वर्षमा नेपालको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन् ।
फुर्की हाल्ने अवस्था छैन : डा. बाबुराम भट्टराई
सीको नेपाल भ्रमणबाट नेपालले वर्तमान र भविष्यमा लिनसक्ने उपलब्धीहरुका बारेमा समीक्षा हुन थालेको छ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सीको भ्रमणको समीक्षा हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालको तर्फबाट केहि कमी कमजोरी भएको औंल्याउँदै यसलाई समीक्षा गरिनु पर्ने बताएका छन् । डा. भट्टराईले चीनका राष्ट्रपति भारत हुँदै नेपाल आउनुको अर्थ के हो भन्ने विषय समीक्षाको पहिलो प्राथमिकतामा रहने बताएका छन् । उनले नेपाल आउनुअघि सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुको अर्थबारे समीक्षा हुनुपर्ने बताएका छन् ।

डा. भट्टराईले चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउनु सुखद र ऐतिहासिक घटना भए पनि यहि कुरालाई लिएर ‘फुर्की हाल्नु पर्ने’ अवस्था नरहेको बताएका छन् । उनले भारतसँग र अमेरिकासँगको सम्बन्धलाई पनि उतिकै ध्यान दिनुपर्ने औंल्याएका छन् । उनले नेपाल यी तीन वटै देशसँगको सम्बन्धमा सन्तुलित बन्नु पर्ने बताएका छन् ।
चीनको सहयोग भोलि पनि यस्तै रहोस् : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई पार्टीले सकारात्मक र उपलब्धीका रुपमा लिएको बताएका छन् । उनले चीनको सहयोग नेपालमा आउँदा दिनहरुमा समेत निरन्तर रहने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७