राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमणका लागि प्रस्थान


२९ आश्विन २०७६, बुधबार
presidentbhandarimyanmartour 10 16102019070802

काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चार दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा भण्डारी आज ९बुधबार० त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेटने छिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ गते म्यानमार हुँदै जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुवात भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको जनाएका छन् ।

गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका थिए । ‘दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन कूटनीतिक रूपमा यस्तो उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन्, हाम्रो यसपटकको भ्रमणलाई पनि त्यसको एउटा भागका रूपमा लिन सकिन्छ,’ पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७