पश्चिमी वायुको प्रभावले देशभर चिसोे, केहि स्थानमा बर्षाको सम्भावना


२ कार्तिक २०७६, शनिबार
climate

काठमाडौं, २ कार्तिक । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले शनिबार देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । राति देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आंशिक बदली भई मध्यपहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७